चितवन। यसअघि भएका नेपाली कांग्रेस चितवनअन्तर्गत रहेका नगरस्तरीय होस् या क्षेत्रस्तरका अधिवेशनहरुमा निकै तामझामको प्रचारशैली देखिएका थिए । उमेदवारहरु फ्लेक्स प्रिन्टमा सजिएका हुन्थे । होर्डिङ बोर्डहरुमा रंगीन बन्थे । कांग्रेसको नगरस्तरीय अधिवेशन पनि संघीय संसदको चुनावजस्तो देखिन्थ्यो, प्रचारमा ।
तर कांग्रेस चितवनले जिल्ला अधिवेशनसम्म आइपुग्दा भड्किलो प्रचारबाजीलाई रोक्ने निर्णय गरेको छ । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अनुसार यसपटक फागुन १५ गते हुने कांग्रेसको जिल्ला अधिवेशन फ्लेक्स प्रिन्ट र होर्डिङ बोर्डबिना हुनेछ । नेपाली कांग्रेस चितवनले जिल्ला अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने जनाएको छ । फागुन १४ गते उमेदवार मनोनयनको दिन तोकिएको छ । १५ गते त चुनाव नै छ । निर्वाचनलाई व्यवस्थित र सभ्य बनाउन निर्वाचन स्थलमा फ्लेक्स प्रिन्ट, होर्डिङ बोर्डजस्ता प्रचार सामग्रीहरु यसपटक देख्न पाइने छैन ।
पार्टीको आन्तरिक चुनावमा फ्लेक्स प्रिन्ट, होर्डिङ बोर्डजस्ता प्रचार सामग्रीलाई कांग्रेसले यसपटक अंकुश लगाएको छ । भरतपुरस्थित चितवन मिड टाउन रिसोर्टमा हुने अधिवेशनलाई भव्य र सभ्य बनाउन कांग्रेस लागिरहेको छ । पटकपटक सर्दै फागुन १५ मा पुगेको कांग्रेसको उमेदवारहरु भित्रभित्रै मत माग्नमा व्यस्त हुन थालेका छन् । सामाजिक सञ्जालमार्फत आफूलाई उमेदवार खडा गरिरहेका छन् कांग्रेसका नेताहरु । चितवन कांग्रेसमा जिल्ला सभापतिको लागि ६ जनाले आकांक्षा देखाएका छन् ।
हालका सचिव उत्तम जोशी, उपसभापति कैलाश कोइराला, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरे, कांग्रेसको क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधि राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भुषालले सभापतिको लागि दावी गरिरहेका छन् । फागुन १४ गते उमेदवार मनोनयन नगर्दासम्म यसै भन्न सकिदैन ।
सभापतिको आकांक्षी अरु पनि हुनसक्छन् अथवा यी दावी गर्ने ६ नेतामध्ये कोहीले छोड्न पनि सक्नेछन् । आकांक्षी ६ जनाले आफू कुनै एक खेमाको उमेदवार नभनी सबै कांग्रेस मतदाताको रुपमा आफूलाई उभ्याएका छन् ।
