काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले एमसिसीबारे जनतामा फैलाईको भ्रम चिर्न नसकेमा आगामी निर्वाचनमा काँग्रेसको पराजय हुने खतरा रहेको बताएका छन् ।
मंगलबार नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको जीपी कोइराला स्मृती पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै गृहमन्त्री खाणले सो कुरा गरेका हुन् । काँग्रेस केन्द्रीय सदस्य समेत रहेका उनले एमसिसीबारेको भ्रम चिर्न नसके काँग्रेसले चुनाव नजित्ने बताए ।
उनले भने – ‘सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस्, काँग्रेस एमसिसीको पक्षमा उभियो र संसदबाट अनुमोदन गर्न सफल भयो’-उनले थपे-‘एमसिसी अनुमोदन गरेकै कारण निर्वाचनमा हुने क्षतिलाई रोक्नका लागि मतदातामाझ प्रष्ट पार्नु जरुरी छ ।’
आगामी निर्वाचनमा काँग्रेसको पराजय हुने खतरा रहेको भन्दै उनले सञ्चारकर्मीहरुले पनि एमसिसीबारे सत्यतथ्य उजार गर्नुपर्नेमा बताए। उनले सरकारमा रहेका दल र तिनका नेताहरुले नै एमसिसीबारे भ्रम फैलाएको भन्दै संसदले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसिसीमै भएकै कुरा बताए ।
विद्युत प्रसारण लाईन निर्माण गरी विदेशमा विद्युत निर्यात गरेर मुलुकको व्यापार घाटालाई कम गर्न एमसिसी परियोजना महत्वपूर्ण हुने र यसबाट ठूलो संख्यामा रोजगारी पनि सिर्जना हुने भएकाले यो मुलुकको हितमा रहेको उनको भनाई छ । उनले आगामी निर्वाचन काँग्रेसले नजित्ने हो भने मुलुक अँध्यारो युगतर्फ प्रवेश गर्ने पनि बताए ।
उनले भने – ‘लोकतन्त्रको रक्षा र नागरिक तथा प्रेस स्वतन्त्रताका लागि पनि काँग्रेसको जित आवश्यक छ ‘
