” को नयाँ मान्छे आउने हो फेरि? यो बूढाले पनि कस्तो कस्तो मान्छे घरमा पठाउने हो भन्या,मलाई ट्यान्सन मात्र,फेरि जो आए पनि खीर पकाउनपर्ने,ह्या …. साहित्यकारहरू पनि पागल जस्ता!” एक्लै गोठमा भुत्भुताइन् गौरी, आज मात्र पतिदेव राजधानी गएको छ एउटा पुरस्कार थाप्न।
राजधानी पुगेर फोन गरेर भन्यो, ” प्यारी,नौलो पाहुना आइपुग्ने आज,बेलुकीतिर,भव्य स्वागत गर है!अहिले नभन्ने को हो भनेर!”
आफ्नो लहडीराम पतिदेव प्रोफेसर गोविन्दभक्त सुकरातोपाध्याय आनन्दको जीवनशैली देखेर सोझी गौरी जिल्ल,कभी खुशी कभी गम, एक दिन, ” बूढा,यो क्याम्पसको ट्यान्सन घरमा ल्याउने होइन है!” उनको गुनासो।
प्रोफेसर साहेबको उत्तर, ” प्यारी,क्याम्पसको तलव चाहिं घरमा ल्याउन हुने ,ट्यान्सन चाहि नहुने? ” गौरी चुप।
अर्को दिन, ” बूढा,यी सासू आमाले मलाई पेलेको पेलै गर्ने,नातिनातिनालाई माया गर्ने,के हो यसको कारण?जनता जान्न चाहन्छे! ” ” प्यारी,बोट तीतो,फल मिठो क्या!! ” ” औतारी बूढा !!” आफ्नो पतिदेव सम्झिएर मुसुक्क मुस्कुराइन्।” माया त गर्नुहुन्छ,जहाँ गए पनि दिनमा सातपाटक फोन गर्नुहुन्छ।” मनमा अनेक कुरा खेले।नन्द सभ्यताले हलुवा र भुटेको आलु खाजा ल्याएर खान दिइन्।
नन्दभाउजू नून चिनी पानी!सबै कुराको सन्तोष छ गौरीलाई। ” सीता आए पनि गफ्फिन हुन्थ्यो नि!” छिमेकी सहेलीको याद आयो।
आठ बज्यो।एक्ली गौरी। ” को आउने हो? अझ पनि किन नआएको होला!खीर पकाउन मात्र हुन्छ कि?” आफैंसित।
त्यतिखेर,कलबेल बज्यो,ढोका बन्द गरेकी छ बजे नै।पुसको समय।गएर गजबार झिकेर ढोका उघारेको,पीठ फर्काएर एक आकार,पोसाक यस्तो कि नर न नारी।” हजुर को हो ?” गौरी,अलि डराएर। ” होइन किन नबोल्नुभएको?नौलो त नौलो कति नौलो हो?पाहुना आउने कुरा त थाहा थियो।
को हो हजुर?भाले हो कि पोथी हो?” हिम्मत गरेर बाहिर निस्किन् गौरी। फरक्क फर्कियो मानव शरीर,गौरीको अनुहारले आफ्नो सामुन्ने अर्को अनुहार देख्यो। ” ये आम्मोई, आम्मामा, म सोझीलाई उल्लू बनाउने?पख तिमीहरू बाउछोरीलाई मैले जानेकी छु।नौलो पाहुना अरे! बूढा !!घर त आउनुहोला नि!घनटाउके!”
” मेरी आमा!! ” ग्वाम्म अङ्कमाल गरी,साझा प्रकाशन,जेठी सुपुत्री अजेया आरोहीले।” अहिले कस्तो लाग्यो त आमा नयाँ पाहुना?म त यो घरमा २०३६ साल मार्ग नौ गते मात्र नयाँ पाहुना होइन नि,जहिले पनि नयाँ पाहुना!
यो धरतीमा हामी सबै पाहुना!रमाइलोभयो नि आमा!?” ” कस्तो सातो गयो नि पहिले त! को हो को हो?” झोलासहित आरोहीको गृहप्रवेश।
आमाछोरी राति एक बजेसम्म गफ गरे। प्रोफेसरको फोन आयो,” बूढा, मलाई सोर्फ्राइज दिने?” ” सरप्राइज,सरप्राइज!कस्तो लाग्यो त गौरी नौलो पाहुना? ”
” बूढा,आई लभ यू!छिटो घर आउनूहोला,गुदपाक र पुष्टकारी लिएर!खकुरेल बाआमालाई भेटेर आउनुहोला!” ” हस् ,परमादेश मान्छु।” एक हप्ता बसेर आरोही कीर्तिपुर फर्किन्।
