चितवन, २४ असोज । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) तोडफोड गर्ने नौ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी परेको छ । किटानी जाहेरी परेका मध्ये तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का धनबहादुर वि.क., जीवन सुनार र विकासबहादुर दमाई रहेका छन् ।
कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार उनीहरुलाई आईतबार पक्राउ गरिएको हो । अस्पतालका तर्फबाट उनीहरु सहित ९ जना विरुद्ध किटानी जाहेरी परेसँगै पक्राउ गरिएको पण्डितले बताउनुभयो । अन्य ६ जनाको खोजी कार्य भईरहेको उहाँको भनाई छ । उनीहरु विरुद्ध स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन २०६६ को शंसोधन २०७९ अनुसार मुद्दा दर्ता गरिएको पण्डितले जानकारी दिनुभयो । अस्पतालले भएको क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गर्दै जाहेरी दिएको हो ।
