चितवन । सोल्टी समूहको चौथो होटल चितवनको पटिहानीमा सञ्चालनमा आएको छ । रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले निर्माण गरेको होटल सोल्ट्री समूहको व्यवस्थापनमा आजबाट औपचारिकरूपमा सञ्चालनमा आउने भएको हो । सोल्टी वेस्टइन्ड रिसोर्ट पटिहानीका नाममा सञ्चालन हुन लागेको हो ।
भरतपुर महानगरपालिका–२२ स्थित चितवन राष्ट्रिय निकुञ्ज नजिक राप्ती नदी तटीय क्षेत्रमा होटल रहेको छ । सोल्टी होटल समूहका उपाध्यक्ष सुदर्शन चापागाईँले सोल्टीको व्यवस्थापनमा चौथो होटल औपचारिक शुभारम्भ गर्न लागेको जानकारीदिनुभयो । सोल्टीको पहिलो द सोल्टी काठमाडौँ, दोस्रो सोल्टी वेस्ट इण्ड प्रिमियर नेपालगञ्ज, तेस्रो सोल्टी वेस्ट इण्ड इटहरी सञ्चालनमा छन् । उहाँका अनुसार ५६ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा प्राप्त अनुभवलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने योजनाका साथ व्यवस्थापन विस्तारको काम थालिएको बताउनुभयो ।
यहाँ आउने पर्यटक हात्ती चढेर सामुदायिक वन घुम्ने, निकुञ्जभित्र जीप सफारी, पैदलयात्रा गर्ने, गाडीमा सफारी गर्ने, राप्ती नदीमा डुङ्गा सयर गर्ने, थारू कला संस्कृतिमा रमाउने गर्न सकिने उहाँको भनाइ छ । यससँगै पर्यटकका लागि थारू जातिको परम्परागत परिकार चिचर, घोगी, हाँस खाएर रमाउन पाउने उहाँले बताउनुभयो । शुभारम्भका अवसरमा कोठामा २० प्रतिशत र फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुटसमेत रहेको छ । रासस
