चितवन । दशैं र तिहार जस्ता पर्वमा सबै रमाईरहँदा नेपाल प्रहरी भने झन् बढी सजगताका साथ काममा खटिनु पर्छ । सार्वजनिक विदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनु पर्छ । सबैले घरघरमा पर्व मनाईरहँदा उनीहरु सडकमा जनता र देशका लागि सुरक्षा दिईरहेका हुन्छन् । यसरी खटिने प्रहरीले न शुक्रबारको आधा दिन मात्रै काम गरे पुग्छ, न विदा र चाडपर्वमा अन्य कर्मचारी सरह विदा पाउँछन् । त्यसो त अन्य समयमा पनि जुनसुकै बेला कामका लागि तयारी हुनु पर्दछ ।
परिवार सँगसँगै रहेर सेवा गर्ने मौका उनीहरुलाई कमै मात्र पाउँछन् । नेपाल सरकार तलब भत्ता खुवाउने फौजी बाहेकका सबै कर्मचारीको भन्दा पृथक र कडाईका साथ उनीहरु खट्नु पर्छ । यसरी खट्दै गर्दा अन्यको भन्दा धेरै पारिश्रमिक पनि उनीहरुले पाउँदैनन् । थोरै पारिश्रमिकमा आफ्नो जीवनको उर्वर समय उनीहरुले राष्ट्रलाई दिईरहेका हुन्छन् । उनीहरुले पाउने पारिश्रमिक श्रमका आधारमा नगण्य हुने गर्दछ । घरपरिवारबाट टाढा रहेर रातदिन खट्ने प्रहरी जवानको पारिश्रमिक रु.२६ हजार ८२ मात्रै रहेको छ । यो उनीहरुको परिश्रमको आधारमा न्यून हो । यही संगठनले आज ६७ औं स्थापना दिवस मनाई रहेको छ ।
एउटा उत्सवको रुपमा प्रहरी दिवस मनाई रहँदा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार भिमबहादुर लायोमगर निकै उत्साहाका साथ दिवसलाई सफल वनाउन लागि रहनु भएको छ । उहाँले भन्नुभयो “हाम्रो लागि प्रहरी दिवस एउटा उत्सव हो । यसलाई रमाईलो गरेर मनाउनु पर्छ ।” प्रहरी संगठन भित्र काम गर्दा पाउने दुःखलाई बिर्सिएर उत्सवको रुपमा दिबस मनाउने गरेको उहाँले सुनाउनु भयो । उहाँले थप्नुभयो “२४ घण्टा कार्यक्षेत्रमा रहँदा हुने हरेक किसिमका समस्यालाई समाधान गर्ने बानी परेको छ ।” जुनसुकै कामलाई पनि सकारात्मक रुपमा लिएर काम गर्दा सहज हुने उहाँको भनाई छ ।
आफूले पाउने पारिश्रमिकको हिसाब नगरी कर्म क्षेत्रमा खटिने गरेको उाहँ बताउनुहुन्छ । लायो मगरले भन्नुभयो “बाहिर हेर्दा आहा भए पनि भित्र काममा हुने दुःख कस्ले बुझेको छ र ।” न कुनै चाड पर्व, न कुनै समय सधै जनताको सेवामा लाग्नु पर्दा पाईने दुःखलाई बाहिरका कस्ले बुझ्ने ? उहाँले प्रश्न गर्नुभयो । जे भए पनि प्रहरी संगठनमा लागेर जनता र राज्यको सेवा गर्न पाउनु खुशीको कुरा रहेको उहाँले बताउनुभयो । यस्तै उत्साही देखिँदै हुनुहुन्थ्यो प्रहरी सहायक हवल्दार चिज कुमार श्रेष्ठ । उहाँ प्रहरी सेवामा लागेको १६ वर्ष भएछ ।
उहाँमा प्रहरी संगठनप्रतिको मायाँ उत्तीकै छ । उहाँले भन्नुभयो “संगठनले दिएको जिम्मेवारी हर हालतमा पूरा गर्छौ ।” जस्तो सुकै दुःखमा पनि काम गर्ने बानी संगठनले वनाई दिएको उहाँको भनाई छ । प्रहरी सेवा भनेकोनै कठिन भन्दा कठिन काम गर्नका लागि भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “प्रहरीमा प्रबेश गर्न सुरुवाती कठिन हुन्छ । त्यसपछि तालिम र कार्यक्षेत्रमा खटिदाँ झनै कठिन हुन्छ ।” बाहिर देख्नेले सहज देखे पनि संगठनको नियम कानुनमा बसेर काम गर्न कठिन हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “चाड पर्ब, मेला, महोत्सब भन्ने कुरा सम्झने हो ।” देश र जनताको सेवामा लाग्न पाउनु नै खुशिको कुरा रहेको उहाँको भनाई छ । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डित अन्य क्षेत्रमा भन्दा फौजीको काम कठिन नै हुने बताउनुहुन्छ । यहाँ काम गर्दा पर्ने हरेक समस्यालाई सहजताका साथ लिन सके हरेक काम गर्न सकिने उहाँले बताउनुभयो । कुनै पनि फौजमा बाहिर देखेभन्दा कठिन हुने उहाँको भनाई छ ।
घाम–पानी, घर–परिवार नभनी देश र समाजको सुरक्षामा खटिनु गर्वको कुरा भए पनि यहाँ काम गर्दा आईपर्ने समस्या बाहिरकाले बुझ्न कठिन हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “२४ घण्टा कार्यक्षेत्रमा खटिनु पर्दा जटिल कति हुन्छ ?” यसलाई उचित व्यवस्थापन गरेर अघि वढ्नु पर्ने उहाँको भनाई छ । व्यवस्थापन गर्न सके प्रहरी पेसा राम्रो रहेको उहाँले बताउनुभयो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले नेपाल प्रहरीले चाडपर्व, विदा भन्न नपाउने बताउनुहुन्छ ।
अन्य कर्मचारी घरमा चाडपर्व मनाईरहँदा आफूहरु सडक वा ब्यारेकमा रहेर सेवामा जुट्नु पर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “परिश्रमको आधारमा पारिश्रमिकलाई तुलना गर्न सकिंदैन ।” सरकारका अन्य कर्मचारीले दैनिक घडी हेरेर काम गर्न पाउने भए पनि नेपाल प्रहरी जुनसुकै बेलामा पनि काममा खटिनु पर्ने उहाँको भनाई छ । प्रहरी दिवसको अवसरमा प्रहरीको मनोवल बढाउनु पर्ने उहाँले बताउनुभयो । थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने बाध्यता आफूहरुसँग रहेको उहाँ बताउनुहुन्छ ।
