ड्राई फुट्स अधिकांशलाई मनपर्छ । जसमध्ये ओखर पनि एक हो । विभिन्न कुकिज, मफिन, ब्राउनिज आदिमा ओखर राखेर बनाइएको हुन्छ ।
स्वादमा मात्र होइन, ओखर एक पौष्टिक तत्वले भरिपूर्ण ड्राइ फुट्स पनि हो । शरीरलाई स्वस्थ राख्न ओखरको निकै महत्वपूर्ण भूमिका हुन्छ । ओखरको सेवनबाट हुने विभिन्न फाइदा बारे यहाँ चर्चा गरिएको छ :
१) पौष्टिक तत्वले भरिपूर्ण
एक आधा कप वा १४ वटा आधा ओखरको सेवनबाट १८ ग्राम बोसो, ४ ग्राम प्रोटिन, २ ग्राम फाइबर प्राप्त गर्न सकिन्छ । शरीरलाई दैनिक आवश्यक पर्ने करिब ५० प्रतिशत म्याग्नेसियम, आइरन, क्याल्सियम र भिटामिन बी हुने गर्छ । ओखरको सेवनले हड्डीलाई स्वस्थ्य बनाउनुका साथै क्यान्सर, मुटुसम्बन्धी रोगबाट बच्न मद्दत पुर्याउँछ। चोटपटकलाई छिटो निको बनाउन पनि यसको भूमिका निकै महत्वपूर्ण मानिन्छ ।
२) स्वस्थ बोसो प्राप्त गर्न सकिने
ओखरको सेवन गर्दा शरीरलाई आवश्यक पर्ने स्वस्थ बोसो प्राप्त गर्न सकिन्छ । अल्फा लिनोलेनिक एसिड र एएलए ओमगा थ्रि फ्याट्टी एसिडको एक प्रकार हो, जसले एक प्रकारको सुजनलाई कम गर्न मद्दत गर्दछ ।
३) पेट र मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ
ओखरको नियमित सेवनले पेट र मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ । ओखरले रक्तचाप घटाउनुका साथै कालेस्ट्रोललाई पनि नियन्त्रित राख्ने पाइएको छ ।
४) रक्तचापलाई कम गराउँछ
सन् २०१९ मा प्रकाशित अमेरिकन हार्ट एशोसिएसनको अध्ययन अनुसार ओखर खाने व्यक्तिमा रक्तचाप र कोलेस्ट्रोलमा सकारात्मक परिवर्तन आएको पाइएको थियो । ओखरको नियमित सेवनले मुटुलाई पनि फाइदा गरेको अध्ययनमा पाइएको थियो ।
५) मस्तिष्कलाई फाइदा
ओखरको नियमित सेवनले मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्दछ । द अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रीशनमा प्रकाशित एक अध्ययनले ओखरको सेवनले मस्तिष्कलाई फाइदा पुग्ने गरेको पाइएको थियो ।
६) स्तन क्यान्सरबाट बचाउँछ
ओखरले मुटु, मस्तिष्कलाई स्वस्थ राख्ने मात्र नभई क्यान्सर जस्तो प्राणघातक रोगबाट पनि बचाउँछ । ओखरको सेवनले स्तन क्यान्सरको जोखिम कम गर्ने विभिन्न अध्ययनले देखाएको छ ।
७) मोटोपनाको जोखिमलाई कम गर्दछ
ओखरको सेवनले तौललाई नियन्त्रित राख्न मद्दत गर्दछ । डायबिटिज ओबिसिटी एण्ड मेटाबोलीजममा प्रकाशित एक जर्नल अनुसार ओखरको सेवनले भोकलाई कम गर्न मद्दत गरेको पाइएको उल्लेख छ । भोकलाई कम गर्ने भएकाले ओखरको सेवनले मोटोपनाको जोखिमबाट बचाउन समेत मद्दत गर्ने जर्नलमा उल्लेख छ ।
८) पुरुषको प्रजनन क्षमतालाई सुधार गर्छ
सन् २०१९ मा प्रकाशित जर्नल न्यूटिएन्ट्समा ओखरको नियमित सेवनले पुरुषको प्रजनन क्षमतामा सुधार गर्ने गरेको उल्लेख छ । शोधकर्ताका अनुसार १४ साताभन्दा बढी समयसम्म दुई वटा ओखर खाने पुरुषमा कामोत्तेजक र यौन इच्छामा उल्लेखनीय सुधार भएको पाइएको थियो ।
