चितवन, २१ पुस । दर्ता नगरी सञ्चालनमा आएका संस्थालाई कारबाहीको माग गर्दै भरतपुरका युवाहरूले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । जिल्लामा बिना दर्ता व्यक्ति र संस्थाले विभिन्न समाजसेवाको नाममा रकम उठाउने कार्य बढेको र त्यसलाई न्यूनीकरण गर्न निवेदन दिएको उनीहरूले बताएका छन् ।
समाजसेवा भन्दै फेसबुकमा देखाउने अभियान र नियम विपरीत चन्दा उठाउने कार्य बढ्दै गरेकोले यस्को न्यूनीकरण गर्न निवेदन हालेको महानगर युवा संञ्जालका संयोजक सन्देश वाग्लेले मध्यान्हलाई जानकारी दिए ।
‘जिल्लामा विभिन्न संस्था र अभियान सञ्चालन गर्ने तर प्रशासनमा दर्ता नगरी मनपरी रकम संकलन गरेर फेसबुके अभियान चलाउनेप्रति हाम्रो खबरदारीको लागि यो निवेदन हालेका हौं’ वाग्लेले भने । आफू पनि नियममा चल्ने र अन्य सामाजिक संस्थाहरुलाई पनि नियमानुसार चल्नुपर्ने उनको भनाइ छ ।
जिल्लामा रहेका विभिन्न व्यक्ति र समुहहरुले संस्था दर्ता विना गैरसरकारी संस्थाहरू, अभियानका नाममा तथा व्यक्तिगत रुपमा समाजसेवाको नाममा पैसा उठाउने र कुनै मापदण्ड विना विभिन्न सामाजिक कार्य गरेको, दान गरेको र गराइरहेको देखिएको हुनाले उक्त कार्य गर्ने समुह र व्यक्तिहरूलाई सम्बन्धित निकायले निगरानी गनुपर्ने उनीहरुको भनाइ छ ।
