एक जना युवकको बिहे स्थलबाहिर युवतीको समूह आएर धर्ना बसेपछि बिहे कार्यक्रममा हंगामा मच्चिएको छ । युवतीहरूले युवकलाई आफ्नो पूर्व प्रेमी भन्दै विवाह रोक्ने धम्की दिन थाले । युवकले आफूहरूसँग बिहे गर्ने वाचा गरेको तर अन्तिम समयमा आएर अर्कै युवतीसँग बिहे गरेको उनीहरूले बताए । कुरा चीनको युनान प्रान्तको हो ।
यो घटनाको भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा युवतीहरु विवाह हल बाहिर विरोध गरिरहेको देखाइएको छ । युवतीहरुको समूहले ब्यानर र पोस्टर बोकेर विरोध प्रदर्शन गरेका थिए । यति मात्र होइन, उनीहरूले युवकलाई बर्बाद गर्ने धम्की समेत दिए । विवाहमा लामो समयसम्म कोलाहल चलेको थियो ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार चेन (उपनाम) नाम गरेका युवकको फेब्रुअरी ६ मा विवाह भएको थियो। सबै तयारी सकियो । यसैबीच युवतीहरूको समूह आएर विवाह हलबाहिर धर्नामा बसे । उनीहरुको हातमा ब्यानर थियो, जसमा लेखिएको थियो– हामी चेनको पूर्व प्रेमिका हौँ, यो बिहे हुन सक्दैन । युवतीहरुले यो बिहे भयो भने सबै नष्ट गरिदिने बताए ।
विरोध प्रदर्शन देखेर त्यहाँ ठूलो संख्यामा मानिस जम्मा भएका थिए । बेहुला र दुलहीका परिवारका सदस्य पनि छक्क परेका थिए । यसबारे चेनले मिडियासँग भनेका छन्, ‘यो घटनाले मलाई निकै लज्जित बनाएको छ । श्रीमती पनि टाढा भइन् । उनी मसँग बोल्दा पनि बोल्दिनन् ।’
तर, चेनले आफूसँग धेरै प्रेमिका रहेको स्वीकार गरेका छन् । तर उनले ती सबैलाई ‘नाइँ’ भनेका थिए। अब उनी नयाँ जीवन सुरु गर्न चाहन्छन् । चेनका अनुसार – सुरुमा अपरिपक्व थिए । गल्ती भयो। केटीहरूलाई पनि दुख भयो। तर त्यो सबै मेरो विगत थियो। चेनले आफ्नो विगतको सम्बन्धको बारेमा विस्तृत भनेनन्, तर आफूले आफ्ना पूर्व प्रेमिकालाई गरेको कामको लागि माफी मागेको बताए।
