लगातारको संसद अवरुद्ध हटाउने विषयमा प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अवरुद्ध संसद खुलाउने विषयमा छलफल हुन लागेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय व्यवसायीले दिल्ली धाएको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध पार्दै आएका छन्।
एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएपछि संसद खुलाउन सभामुख देवराज घिमिरेले गरेको पहल सफल हुन नसकेपछि अहिले प्रमुख दलका शीर्षनेताबीच सो विषयमा छलफल हुन लागेको हो।
यसअघि सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकसँग गरेको परामर्श निष्कर्षमा पुग्न सकेको थिएन। सभामुख घिमिरेले संसद खुलाउने विषयमा शीर्ष नेतालाई आग्रह गर्दै आएका छन्।
