
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आज शनिबार लियो जिल्ला परिषद् ३२५ आरले पद हस्तान्तरण, प्रथम जिल्ला परिषद् बैठक तथा विभिन्न विधामा अवार्ड वितरण गर्ने भएको छ ।
जिल्ला परिषद्ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा उत्कृष्ट काम गरेका तीन सय बढीलाई अवार्ड वितरण गर्ने जानकारी गराइएको हो ।

लियोलाई समुदायसंग जोड्ने उद्देश्यले सामाजिक संघसंस्थाहरुलाई सहभागी गराएर विहान टाँडी बजारमा शान्ति र्याली निकालिने परिषद्का जिल्ला अध्यक्ष किरण लामिछानेले जानकारी दिए ।

कार्यक्रममा जिल्ला भित्रका लियो क्लवका २५० बढीको सहभागिता रहने छ । कार्यक्रम लायन्स क्लवका डिष्ट्रिक गर्भनर आरएस महतोले उद्घाटन गर्ने सो कार्यक्रमको तयारी पुरा भएको कार्यक्रम संयोजक निशान कँडेलले जानकारी दिए ।

