श्रीराम रावणको राज्य लंकामाथि आक्रमण गर्ने तरखर गर्दै थिए । त्यसभन्दा पहिला उनले समुद्रतटमा नौ दिनसम्म देवीको पूजा गरे । यसरी पूजा गर्नका लागि ब्रह्माले उनलाई सल्लाह दिएका थिए।
रावणले रामको पूजामा व्यवधान उत्पन्न गर्ने प्रयास गरे । उनी आफैँले पनि विजयप्राप्तिका लागि देवीको पाठ सुरु गरे । रावणले पाठ गर्न थालेको कुरा वायुदेवले रामको कानसम्म पुर्याइदिए । रामले त्यसलाई सहज रूपमा लिए।
रावणको यज्ञमा ब्राह्मणहरूको सेवा गर्ने बहानामा हनुमान बटुकको रूप बनाएर गए । त्यहाँ उनले सक्दो सेवा गरे । उनीबाट खुसी हुँदै यज्ञमा मन्त्रोच्चारण गरिरहेका ब्राह्मणहरूले उनीसँग इच्छा लागेको कुरा माग्न भने । हनुमानले ब्राह्मणहरूले उच्चारण गरिरहेको मन्त्रको अगाडिको अक्षर आफूले भनेअनुसार बदलिदिन अनुरोध गरे । हनुमानको चाल ब्राह्मणहरूले थाहा पाउनै सकेनन् । ब्राह्मणहरूले सोच्दै नसोची ‘तथास्तु’ भनिदिए।
हनुमानले ‘जयादेवी… भूर्तिहरिणी’ मन्त्रबाट ‘ह’ को सट्टा ‘क’ उच्चारण गर्न भने । ब्राह्मणहरूले आफ्नो वचन हार्न सकेनन् र ‘भूर्तिकरिणी’ भनिदिए । प्राणीहरूको पीडा हर्ने खालकी ‘हरिणी’ को सट्टा पीडा दिने खालकी ‘करिणी’ हुन गयो । यस्तो मन्त्रोच्चारण देखेर रावणदेखि देवी रुष्ट भइन्।
यता रामले गर्न लागेको पूजा र हवनका लागि दुर्लभ एक सय आठ नीलकमलको व्यवस्था गरिएको थियो । रावणले आफ्नो यज्ञ सफल र रामको यज्ञ असफल पार्न विभिन्न षड्यन्त्र गरिरहेका थिए । उनले आफ्नो मायावी शक्ति प्रयोग गरेर रामले तयार गरेका नीलकमलमध्ये एउटा गायब पारिदिए । आफ्नो नीलकमल हराएको थाहा पाएपछि देवी रुष्ट होलिन् भनेर राम डराए । दुर्लभ नीलकमलको तत्कालै व्यवस्था गर्न सम्भव पनि थिएन।
रामलाई मानिसहरूले ‘कमलनयन नवकञ्च लोचन’ भन्ने गर्थे । उनले त्यही सम्झे र आफ्नो यज्ञ पूरा गर्नका लागि आफ्नै एउटा आँखा अर्पण गर्न तयार भए । बाणद्वारा आँखा निकाल्नै लाग्दा देवी प्रकट भएर उनलाई रोकिन् र उनको त्याग देखेर खुसी हुँदै विजयप्राप्तिको आशीर्वाद दिइन्।
नौ दिनको यज्ञ सकिएपछि दसौं दिन रामले लंकामाथि आक्रमण गरे । उनको आक्रमण सफल भयो । असत्यमाथि सत्य र अधर्ममाथि धर्मको जित भएको मानियो र खुसियाली मनाइयो । त्यसै बेलादेखि सुरु भएको हो दसैं मनाउने चलन।
