कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गरेका छन् । जेठ ९ गतेदेखि सात वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
१६ वर्ष उमेर पुगेका र नेपाली नागरिकता प्राप्त गरेकाले राष्ट्रिय परिचयपत्र लिन पाउने उक्त कार्य वडास्तरबाट वितरण सुरु गरिएको वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले बताउनुभयो । वडामा एक हजार ७९० जनाको राष्ट्रिय परिचय पत्र बनेर आएको उहाँले जानकारी दिनुभयो ।
वडा नम्बर ४ बाट हाल सम्म १७३ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको वडा सचिव बिष्णुहरि नहर्कीले जानकारी दिनुभयो ।वडामा कार्यालय खुल्ने समयदेखिनै राष्ट्रिय परिचय पत्र लिनेको घुइँचो लाग्ने गरेको छ ।
यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो ।
सरकारले नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्यांकका आधारमा राष्ट्रिय परिचय नं सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यले परिचयपत्र वितरणको कार्य सुरु गरिएको हो ।
