स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसङ्ख्या नीति आवश्यक रहेको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनसङ्ख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्ने भएकाले जनसङ्ख्या नीतिमा सबैकुरा समेटिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले जनसंख्या नीति बनाउने कुरा सरकारले प्राथमिकतामा राख्न नसकेको बताउनुभयो । सरकारले जनसङ्ख्या नीति बनाउने हो भने प्राथमिकतामा राख्नुपर्छ, उहाँले भन्नुभयाे, जनसङ्ख्याको राष्ट्रिय नीति बनाउन विश्वविद्यालयमा रहेका जनसङ्ख्या विभागहरुले विशेष पहल गर्नुपर्छ ।
उहाँले जनसङ्ख्या मन्त्रालयले नीति मात्रै बनाउने हो र कार्यान्वयन गर्ने अर्को निकाय बनाउने भए सुरुवातमै स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सम्पूर्ण कुरा समेटिएको जनसङ्ख्या नीति ल्याउन जरुरी छ । जनसङ्ख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्नसक्छ । जसरी राज्यले यो विषयमा प्राथमिकता दिनुपर्ने हो, त्यो राख्न सकेको छैन । यो निस्कर्षमा पुगौँ । प्राथमिकतामा राख्ने हो भने मेकानिजम बनाउँ पहिले ।”
यसरी मेकानिजम बनाउँदा यो हेर्ने कसले हो ? देशभरको जनसंख्यासम्बन्धी नीति बनाउने कसले हो ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हो ? त्यो हो भने त्यसअनुसारको मेकानिजम निर्माण गर्नेगरी राज्यले छुट्याउनुपर्छ । नीति बनाउने र कार्यान्वयन गर्ने फरक फरक निकाय हो भने त्यही भनौँ । नीति बनाउने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हो, कार्यान्वयन गर्ने अरु मेकानिजम हो भनौँ । त्यो कुरामा स्पष्ट हुुनपर्छ । छलफल मात्रै गरेर नीति बनाउनका लागि त्यस्तै कार्यान्वयन गर्नेगरी मेकानिजम आवश्यक पर्दैन,” उहाँले भन्नुभयाे ।
यसेगरी, मन्त्री पौडेलले स्वास्थ्य सुविधा सहज र सर्वसुलभ ढंगबाट उपलब्ध हुनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्यलाई सर्वसुलभ, सहज बनाउनका लागि स्वास्थ्य बीमा ५ लाख पु¥याउनुपर्ने र व्यवस्थित गर्नुपर्ने समेत उल्लेख गर्नसभएकाे छ । गोरखापत्र अनलाइनबाट
