रत्ननगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकले थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको रत्ननगर नगर अधिवेशनको शुभारम्भ गर्दै प्रमुखअतिथिसमेत रहेका चितवन क्षेत्र नं(३ का सांसद् पाण्डेले गणतन्त्रले नेपाली जनताको चाहना पूरा गर्न नसकेको बताएका हुन् । उनले भने, ‘गणतन्त्रका मसिहाहरु यसलाई संस्थागत गर्नुपर्छ भन्दैछन्, गणतन्त्रलाई संस्थागत गर्ने भनेको परिवारवाद र राष्ट्रलाई भ्रष्टाचारको दलदलमा फसाउने र युवाहरुलाई विदेश पलायन गर्नु हो ।’
उनले पूर्वराजा, राजनीतिक दल र गरिब जनतालाई सम्बोधन हुनेगरी सम्झौता गरी नयाँ व्यवस्था चुुन्न आवश्यक रहेको बताए । हरेक आन्दोलनको सुरुवात चितवनबाटै हुने गरेकाले सशक्तरुपमा काम गर्ने नेतृत्व चयन गर्न नगरसमितिलाई आग्रह गरे ।
राप्रपाका नगरअध्यक्ष गोविन्दप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ज्ञानुजङ्ग लामा, राप्रपा सहमहामन्त्री रिना गुरूङ, जिल्ला कार्यसमिति अध्यक्ष रुद्रप्रसाद ढकालले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको स्वागत तथा आफ्नो कार्यकालमा भएका कार्यक्रमहरुको बारेमा नगरप्रवक्ता सन्तोष लामाले प्रकाश पारेका दिए । कार्यक्रममा केन्द्र, प्रदेश तथा जिल्ला तहका नेताहरु तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
राप्रपाको नगर कार्यसमितिका लागि अध्यक्ष पदमा सन्तोष लामा, नारायण कार्की, हरिशरण भट्टराई, रामजी चौधरी र श्याम पोखरेलको दाबी छ । सहमतिका लागि वैशाख ३१ गतेसम्म अधिवेशन स्थगित गरिएको छ । सो समयसम्म पनि सहमति हुन नसकेमा मात्र निर्वाचन समितिले मतदान तालिका प्रकाशित गर्ने निर्वाचन समितिका संयोजक चूडामणि सापकोटाले जानकारी दिए ।
नगर कार्यसमितिको ३१ सदस्य भने सर्वसम्मत घोषणा गरिएको उनले बताए ।














