केही दिनदेखि परेको निरन्तर वर्षाका कारण भरतपुर महानगरपालिका वडा नं. १७ मा बाढी तथा डुबानबाट प्रभावित भई आधारभूत विद्यालयमा आश्रय लिएर बसेका स्थानीय बासिन्दाहरूका लागि चितवन, नवलपुर र तनहुँ जिल्लाका विभिन्न जेसीज शाखाहरूको संयुक्त आयोजनामा आज करिब ४५ घरधुरीका परिवारलाई भोजन गराउने कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा बाढी प्रभावित परिवारहरूसँगै बसेर भोजन गर्दै उनीहरूलाई आवश्यक साथ, सहयोग तथा सान्त्वना प्रदान गरिएको थियो। आज मौसममा सुधार आउनुका साथै नारायणी नदीको पानीको सतहसमेत उल्लेख्य रूपमा घटेकाले घर फर्कन सक्ने अवस्था बनेपछि केही परिवारहरू आफ्नो घरतर्फ फर्किएका छन्।
आगामी दिनमा उनीहरूलाई आवश्यक पर्ने सामग्री तथा सहयोगका लागि समेत समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित आजको कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा महुवा सामुदायिक वनका अध्यक्ष श्री भरतराज पौडेलज्यू, विशिष्ट अतिथि मनकामना टोल विकास संस्थाका अध्यक्ष श्री तेज हमालज्यू तथा अतिथि गुन्जानगर स्वास्थ्य चौकीका प्रमुख श्री दीपक ढकालज्यूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमको सभाध्यक्षता नारायणगढ जेसीज वर्ष २०२६ का शाखा अध्यक्ष सिनेटर सन्तोष पण्डितज्यूले गरेका थिए। कार्यक्रममा चितवन, नवलपुर र तनहुँ जिल्लाका विभिन्न जेसीज शाखाका शाखा अध्यक्षज्यूहरूको गरिमामय उपस्थिति रहेको थियो।
यस मानवीय तथा सामाजिक सेवाको कार्यलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण समकालीन साथीहरू, विभिन्न शाखाका शाखा पधाधिकारीज्यूहरू तथा नारायणगढ जेसीजका सम्पूर्ण साथीहरूमा हार्दिक धन्यवाद तथा विशेष आभार व्यक्त गर्दछु।
संकटको समयमा साथ दिनु नै सच्चा मानवता हो।
