बागलुङ । बागलुङमा अविरल वर्षासँगै आएको पहिरो तथा बाढीका कारण हालसम्म १२ जनाको मृत्यु भएको छ भने एक जना महिला बेपत्ता भएकी छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृत्यु हुनेमा ५ पुरुष, ४ महिला र ३ बालबालिका रहेका छन्। वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ।
प्रहरीका अनुसार ५१ घर पूर्ण रूपमा र ५१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, १० गोठ पूर्ण र १ गोठमा आंशिक क्षति पुगेको छ। ३ वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
वर्षाका कारण प्रहरी कार्यालय, हाइड्रोपावर, विद्यालय, वडा कार्यालय, रिसोर्ट र कृषि फार्ममा समेत क्षति पुगेको छ। साथै २५६ पशुचौपाया र २१५ कुखुरा क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
क्षतिको थप विवरण संकलन तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
