सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो जिप बुधबार बिहान करिब ८ः३० बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। दुर्घटनामा घाइते भएका आठै जनालाई उद्धार गरी स्थानीय प्रधान मेडिकल, रातामाटामा उपचारका लागि पठाइएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि बिहान ९ बजे धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिनामाया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ रहेका छन्।
जिप चालक बेथानचोक गाउँपालिका–३ का अन्दाजी २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
