भक्तपुर । सूर्यविनायक नगरपालिका–८, जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज बिहान आगलागी भएको छ।
नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा बिहान आगलागी भएको हो। आगलागी भएपछि जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल तथा स्थानीयवासीको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।
जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलका अनुसार आगलागीबाट कारखानामा रहेका मेसिन तथा प्लास्टिकका कच्चा पदार्थ पूर्णरूपमा क्षति भएका छन्। साथै, कारखानासँगै रहेको दिनेश मचामसीको घरमा समेत क्षति पुगेको उनले जानकारी दिए।
प्रहरीका अनुसार आगलागीबाट करिब ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन। घटनास्थलमा प्रहरीले मुचुल्का उठाउनेलगायतको आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
आगलागी भएलगत्तै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घटनास्थलमा पुगेर आगलागीबाट क्षति भएको उद्योगको निरीक्षणसमेत गरेका छन्।
