काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) अहिले विवादमा फसिरहेको छ। दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच कुरा नमिल्दा जसपा नफुटे पनि एकताबद्ध समेत हुन सकेको छैन ।
यसैबीच सरकारबाट बाहिरिएको अध्यक्ष ठाकुर पक्षका ६ जना सांसदले उनको साथ छोडेका छन् । शुक्रबार बसेको ठाकुर पक्षको संसदीय दलको बैठकमा उनी निकटका ६ जना सांसद उपस्थित भएनन् ।
अध्यक्ष ठाकुरसँग रहेका २० सांसद मध्ये ६ जना सांसदले उनको साथ छाडेका हुन् । केपी ओली सरकारमा रहदा मन्त्री बन्न नपाएका अध्यक्ष ठाकुर पक्षका नेताहरु अहिले असन्तुष्ट छन् ।
शुक्रबार अध्यक्ष ठाकुरले बोलाएको बैठकमा राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकाल उपस्थित नभएपछि साथ छोडेको अनुमान लगाएको हो । उनीहरु बैठकमा सहभागी नहुँदा उपेन्द्र यादव समूहमा गएको चर्चा पनि शुरु हुन थालेको छ ।
यता, अध्यक्ष यादवले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने संकेत गरेका छन् । क्यानडा नेपालसँगको कुराकानीमा यादवले यस बिषयमा छर्लङ पारेका छन् ।
जसपा किन अहिले देउवाको सरकारमा गएन भन्ने प्रश्नमा यादव भन्छन्, – ‘अहिले हाम्रो पार्टी भित्र आन्तरिक विवाद चलिरहेको कारण पार्टीले निर्णय गर्न पाएको छैन । अब केहि दिनमा निर्वाचन आयोगले फैसला गरे पश्चात पार्टीको निर्णय अनुसार सरकारमा जाने कुरा अघि बढ्छ ।
जसपा अहिले नै नफुटेको तर आन्तरिक विवाद नमिले फुट्न पनि सक्ने कुरा समेत नेता यादवले जनाएका छन् । महन्थ ठाकुरका कारण पार्टी फ़ुट्को अवस्थामा आएको तर अझै पनि विवाद मिलाउन खोजेको बताएका छन् । आफू संग जसपामा बहुमत रहेका कारण जसपा पार्टी आफू संगै हुने दाबी समेत उपेन्द्र यादवले गरेका छन् ।
