काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुलेका छन् । आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका थापा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा देखिए ।
थापा १३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहमा रहेका थिए । अहिले उनी पौडेल समूहको कार्यक्रममा देखिएका छन् ।
गएको महाधिवेशनमा पनि नेता थापा महामन्त्री पदमा नै उठेका थिए । उनीसँगै महामन्त्री पदमा डा।शशांक कोइराला र अर्जुननरसिंह केसी पनि उठेका थिए । केसी शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा उठेका थिए । देउवा पक्षबाट महामन्त्रीमा उठेका केसी अहिले पौडेल समूहका छन् ।
आफूलाई महामन्त्रीमा उम्मेदवार बनाए पनि देउवाले कोइरालासँग साँठगाँठ गरेर आफूलाई महामन्त्रीमा हराएको भन्दै केसीले देउवाको साथ छाडेका हुन् ।
