भदौ १८ काठमाडौं। अमेरिकामा आइडा नामक सामुद्रिक आँधीको प्रभावले भएको भीषण वर्षापछि आएको बाढीका कारण एकै परिवारका तीन जना नेपालीसहित कम्तीमा ४३ जनाको मृत्यु भएको छ।
युनाइटेड शेर्पा एसोसिएसन अमेरिकाले फेसबुकमार्फत् दिएको जानकारीअनुसार मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन्।
न्युयोर्क टाइम्सका अनुसार कमजोर भइसकेको ठानिएको त्यही आँधीको प्रभावले बिहीबार उत्तरपूर्वका न्युयोर्क, न्युजर्सी, पेन्सलभेनिया र कनेक्टिकट राज्यमा अचानक भीषण वर्षा भएको थियो।अचानक भएको वर्षाले घरका भुइँतलामा पानी भरिएको थियो भने सडकहरू नदीजस्ता भएका थिए। ज्यान गुमाउनेहरूमा धेरैजसो भुइँतलामा बसेका र सवारी साधन चलाइरहेका मानिसहरू छन्। बाढीमा केही कारहरू बगेका छन्।
वर्षासँगै आएको चक्रवातले केही घरका छाना पनि भत्काइदिएको छ। बाढीपछि न्युयोर्क सहरमा सबवे बन्द गरिएको छ। दर्जनौं उडान स्थगित भएका छन्। बिजुली अवरूद्ध भएपछि ती राज्यहरूमा जनजीवन अस्तव्यस्त भएको छ।
