अविरल वर्षापछि आएको बाढीले राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनामा क्षति पुर्याएको छ । कर्णाली नदीमा आएको बाढीले आयोजनाको नहरको बाँधमा क्षति पुर्याएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । कार्यालयका अनुसार बाढी सिँचाइ आयोजनाको नहरमा पसेपछि जानकी गाउँपालिका र टीकापुर नगरपालिका जोखिममा परेका छन् । बाढीले कति क्षति पुर्यायाे भन्रे विवरण भने आइसकेकाे छैन ।
चिसापानीस्थित जल तथा मौसम विज्ञान विभागको मापन केन्द्रका अनुसार कर्णाली नदीमा दिउँसो सबा १ बजे गरिएको मापनअनुसार पानीको सतह १२ दशमलव ५ मिटर पुगेको छ । नदीमा पानीको सतह १० मिटर पुग्नुलाई वार्निङ लेभल र १० दशमलव ८ मिटर पुग्नुलाई खतराको तह पार गरेको मानिन्छ ।
नदीमा पानीको सतह बढ्दै गएपछि तटीय क्षेत्रका बासिन्दा डराएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय युवाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्न सहयोग गरिरहेका छन् । स्थानीय पालिकाले सुरक्षित स्थानतर्फ सर्न सार्वजनिक सूचना जारी गरेका छन् ।
