नवलपुर । नवलपुरको देवचुलीबाट पाँचजना जुवाडे आज दिउसो पक्राउ परेका छन् । देवचुली नगरपालिका वडा नं. १७ फारमचोक स्थित नौलासिंह घर्ती मगरको घरमा जुवा खेलिरहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनिहरुको साथबाट २९ हजार ८१० रुपैँया बरामद गरिएको प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा देवचुली नगरपालिका वडा नं. १७ का घरधनी ५० वर्षका नौलासिंह घर्ती मगर, वर्ष ३५ का चित्र बहादुर मगर, वर्ष ३२ का अजय उपाध्याय, वर्ष ५१ क भिमसिंह गुरुगं र ४७ वर्षका टुक बहादुर गुरुगं रहेका छन् ।
उनिहरु सबैलाई जुवामुद्धामा अनुसन्धान गरि कारबाही गरिने प्रहरीले जनाएको छ । चाडपर्वको नाममा जुवा तास खेलेर घर परिवारको आर्थिक अवस्था कमजोर बन्ने तथा समाजमा नै नकरात्मक असर पर्ने भएपछि जिल्लामा जुवातासलाई निरुत्साहित गर्न प्रहरीले सकृयता बढाएको छ ।
