काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्टको नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलत कदम चालेको बताएका छन् । मंगलबार सर्लाहीमा आयोजित कार्यक्रममा पुगेका पत्रकारहरुसँग सो कुरा बताएका हुन् ।
उनले ओलीले नेता महत्त्वपूर्ण ठानेर अगाडि बढेका तर आफूहरूले सधैँ नीति पहिलो भन्ने फरक मत प्रस्तुत गरेको बताए । उनले ओलीले आफ्नो स्वार्थका लागि दुई तिहाइको सरकारलाई आफैँले कमजोर बनाएको पनि आरोप लगाए ।
उनले भने ‘दुई तिहाइको सरकारलाई कमजोर बनाउन पहिला माओवादीलाई अलग गराए’, उनले भने, ‘त्यसपछि हामीलाई समेत घोक्र्याएर पार्टीबाट निकाले ।’ उनले काम एउटै नगरेर देशभर एकै पटक विभिन्न कार्यक्रम घोषणा गरेर गिनिजबुकमा नाम लेखाउने काम गरेको पनि बताए ।
धेरै गफ गर्ने गफाडी प्रधानमन्त्रीका रूपमा केपी ओलीको गिनिज बुकमा नाम लेखिने भन्दै नेपालले खिसी पनि गरे । पत्रकारहरुसँग उनले कम्युनिस्ट आन्दोनलमा आफूहरूले विद्रोहको राँको बालेको दाबी पनि गरे ।
