सवारी चालक अनुमतिपत्रका लागि आवेदन बुझाएर परीक्षाको प्रतिक्षामा बस्नेको संख्या ६ लाख पुगेको छ । कोभिडका कारण लामो समयदेखि बन्द रहेको आवेदन लिने काम गत कात्तिक ८ मा खुलाएपछि झन्डै चार लाखले आवेदन बुझाएका छन् । पहिले नै आवेदन बुझाएर परीक्षाको प्रतीक्षामा बस्नेको संख्या दुई लाख भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
दुई वर्षयता पटकपटक सेवा अवरुद्ध भएका कारण आवेदन दिएर पनि परीक्षा दिन नपाउनेको संख्या धेरै भएको विभागको तर्क छ । कोभिड सङ्क्रमणका कारण यातायात व्यवस्था कार्यालयलले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो ।
६ महिनापछि कात्तिकको दोस्रो साता आवेदन पुनः खुलाइएको भए पनि प्राविधिक कारणले बीचमा झण्डै चार दिन अवरुद्ध भएको थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए ।
गत वर्ष पनि विभागले अनलाइन फाराम खुलाउनासाथ भर्न नसकिने समस्या देखिएको थियो । सेवाग्राहीको चापका आधारमा सफ्टवेयरको क्षमता बढाइएकाले अहिले भने समस्या नआएको विभागले जनाएको छ ।
२०७६ चैतमा कोभिडका कारण सरकारले लकडाउन लागू गरेसँगै नयाँ चालक अनुमतिपत्रको परीक्षा रोकिएको थियो । गत वर्ष माघमा सङ्क्रमण कम भएको भन्दै अनलाइन फाराम खुलाइएको भए पनि सङ्क्रमण पुनः बढेपछि स्थगित भएको थियो । दुई वर्षयता नियमितरुपमा परीक्षा हुन नसकेकाले धेरै सेवाग्राही परीक्षामा सहभागी हुन पाइरहेका छैनन् ।
