सेयर बजार लगातार तेस्रो दिन पनि हरियो बनेर बन्द भएको छ । यद्यपि आजको पछिल्लो कारोबार घन्टामा बजारको बढ्दो ट्रेन्ड कम्जोर बनेको संकेत मिलेको छ । डेली चार्टमा बनेको ‘ह्यांगिङ म्यान’ आकृतिको महिनबत्तीले बजारमा पछिल्लो एक घन्टामा प्रोफिट बुकिङ गर्ने लगानीकर्ता हाबी भएको संकेत गरेको छ । त्यही भएर झन्डै २८२६ को हाई बनाएको नेप्से बजार बन्द हुँदा २८०१.५२ मा छ । तर पनि आज नेप्से ०.६१ प्रतिशतले धनात्मक नै छ ।
नेप्से १६.९५ विन्दुले धनात्मक हुँदा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.९८ विन्दुले हरियो भई ५२५.४४ मा छ । यस दिन कारोबार भएका १३ वटा समूह ६ वटाको सूचक रातो छ भने बाँकी ७ वटाको हरियो छ । सूचक रातो हुनेमा सबैभन्दा अगाडि उत्पादनमूलक समूह छ । यो समूह १.५२ प्रतिशतले खस्किएको छ । त्यस्तै विकास बैंक, इन्भेस्टमेन्ट, जीवन बिमा, निर्जीवन बिमा र म्युचुअल फन्डको सूचक पनि रातो छ ।
उकालो लाग्नेमा सबैभन्दा अगाडि अन्य समूह देखिएको छ । यो समूहको ५.२९ प्रतिशतले बढेको छ । नेपाल टेलिकमको सेयर भाउ बढ्दा यो समूहको सूचक पनि बढ्न पुगेको हो । यस्तै बैंक, वित्त, होटल, जलविद्युत्, लघुवित्त र व्यापार समूहका सूचक पनि उकालो लागेका छन् ।
बढ्दो बजारमा कारोबार रकममा पनि सुधार भएको छ । यस दिन ७७ हजार ५१८ कारोबारबाट १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता सेयर सात अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँमा खरिदबिक्री भएका छन् । मंगलबार ६९ हजार २०० कारोबारबाट १ करोड ९३ हजार २२१ कित्ता सेयर पाँच अर्ब २१ करोड ६५ लाख ६५७ रुपैयाँमा खरिदबिक्री भएका थिए ।
बुधबार कारोबार भएका २२४ स्क्रिप्टमध्ये १०७ वटाको सेयर भाउ उकालो लागेको छ भने १०४ वटाको घटेको छ । १३ वटाको क्लोजिङ मूल्य स्थिर रह्यो । यस दिन पाँचवटा कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट लागेको छ । ती कम्पनीमा पञ्चकन्यामाई हाइड्रोपावर, अपर तामाकोसी, मानुषी लघुवित्त, तेह्रथुम पावर र नेपाल बंगलादेश बैंक छन् । यस दिन सबैभन्दा बढी गुमाउनेमा बोटलर्स नेपाल तराईका लगानीकर्ता परेका छन् । यस कम्पनीको सेयर भाउ ७.४७ प्रतिशतले घटेको छ । यस्तै महालक्ष्मी विकास बैंकको सेयर भाउ पनि सात प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।
