काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशका मुद्दाहरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै कुठाराघात गरेको बताएका छन् ।
बुधबार महोत्तरीको रामगोपालपुरमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । उनले एमाले र ओली नै मधेशको खलनायक भएको बताए ।
आफू प्रधानमन्त्री हुँदा मधेशका मुद्दालाई केन्द्रीत गर्दै दुईपटक संसदमा संविधान संशोधन गर्न प्रस्ताव लैजाँदा ओलीले नै रोकेको प्रचण्डको भनाई छ । उनले भने – ‘माओवादी मधेशको साथी नभएको र माओवादीले मधेसी जनतालाई कुठाराघात गरेको भनेर बदनाम गर्न अर्बौ खर्चेर मधेशमा परिचालन गरेको थियो । ‘
माओवादी मधेसी जनताको सच्चा साथी भएको प्रमाणित गर्न आफू सिरहाबाट चुनाव लडेको तर त्यसबाटमात्र आफूले भ्रम चिर्न नसकेको उनले बताए । पछिल्लो समय मधेसी जनताले माओवादीलाई बुझ्दै गएको बताउदै प्रचण्डले आगामी चुनावमा माओवादी केन्द्र प्रदेशकै पहिलो पाटी बन्ने बताए ।
