गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भेटिएपछि मारुती सिमेन्ट कम्पनी कारबाहीमा परेको छ । लामो समयदेखि सिमेन्ट उत्पादन गर्दै आएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागले यो कम्पनीबाट उत्पादित सिमेन्ट प्रयोग नगर्न समेत उपभोक्तालाई आग्रह गरेको छ ।
आकर्षक विज्ञापन गरी उपभोक्तालाई झुक्याउँदै आएको मारुतीको सिमेन्ट गुणस्तरहीन प्रमाणित भएपछि यो कम्पनीले उत्पादन गर्ने ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादनमै रोक लागेको छ भने त्यसअघि नै बिक्रीका लागि बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन विभागले कम्पनीलाई निर्देशन दिएको छ ।
गुणस्तर विभागले विभिन्न मितिमा बजार अनुगमनका क्रममा संकलन गरेको उक्त कम्पनीको ओपीसी ४३ ग्रेडको सिमेन्ट गुणस्तरहीन भएकाले प्रयोग नगर्न उपभोक्तालाई आग्रह गरेको हो । विभागद्वारा संकलित नमुनाको एमपिए ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो ।
सिरहामा मुख्य उत्पादन कार्यालय रहेको मारुती सिमेन्टलाई विभागले १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । नेपाल गुणस्तर चिह्न प्राप्त उक्त कम्पनीलाई नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन २०३७ तथा नियमावली २०४० बमोजिम कारबाहीको दायरामा ल्याएको विभागले जनाएको छ । विभागले चित्तबुझ्दो जवाफ नदिए उक्त कम्पनीबाट उत्पादन हुने ओपीसी सिमेन्ट सदाका लागि बन्द गरिदिने चेतावनी दिएको छ ।
