काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस एकढिक्का भएर आगामी आम निर्वाचनमा जानुपर्ने बताएका छन् ।
बुधबार तनहुँको डुम्रेमा आयोजना गरेको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा बोल्दै पौडेलले सो कुरा गरेका हुन् । उनले भने – ‘कांग्रेस एकढिक्का भएर आगामी आम निर्वाचनमा जानुपर्छ ।’
आफू कहिल्यै पनि पदका लागि आन्दोलन नगरेको बताउदै उनले जीवन रहेसम्म जनताको सेवामा लागिरहने बताए । पार्टीमा अन्तरघातलाई प्रश्रय दिन नहुने भन्दै उनले अब एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।
उनले अहिले कांग्रेसमा देखिएको विसंगतिलाई सुधार्दै लानुपर्ने पनि बताए । उनले विगतका तीतामीठा अनुभवलाई बिर्सिएर प्रतिपक्षसँग एकजुट भएर लड्नुपर्ने पनि बताए ।
