उदयपुर : उदयपुर जिल्लाको बेलका नगरपालिका ३ बुद्धचोकमा भएको बालिका हत्याका आरोपीलाई उदयपुर प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बर्ष १६ की कविता सुनुवारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका भारतको सिक्किम राज्य बियुङ स्थायी घरभई जिल्ला उदयपुर बेलका न.पा. ३ बस्ने बिनोद ढकाल र बेलका न.पा. ३ की १७ की नाबालिकालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजनिक गर्नुको साथै बालिकाको हत्याभएको सूचना पाएको दुई घण्टाभित्र हत्यामा संलग्नहरूलाई पक्राउ गर्न उदयपुर प्रहरी सफल भएको जनाएको छ । सार्वजनिक गरिएका आरोपी ढकाललाई ७ दिन र नाबालिकालाई उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक शुवासचन्द्र बोहोराले जानकारी दिए ।
