चितवन । स्थानीय तहको निर्वाचन नजिकिदैं गए पछि जिल्लामा रगतको अभाव देखिन थालेको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा आबश्यकता अनुसार रगत उपलव्ध हुन छाडेको छ । राजनैतिक दलहरु निर्वाचन केन्द्रीत गतिबिधिमा लागे पछि रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको हो ।
अहिले मागको ५० प्रतिशत मात्रै रगत उपलव्ध हुने गरेको केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जानकारी दिनुभयो । अहिले केन्द्रमा दैनिक १ सय ५० युनिट रगतको माग भएकोमा ७० देखि ७५ युनिट मात्रै उपलव्ध गराउन सकिएको उहाँले बताउनुभयो । निर्वाचन नजिकिदैं जाँदा दल र तीनका भातृ संस्थाहरु निर्वाचन केन्द्रीत कार्यक्रममा लागे पछि रगतको अभाब भएको उहाँले बताउनुभयो ।
नेपालको मध्ये भागमा रहेको यस केन्द्रले चितवन सहित, नवलपरासी, परासी, धादिङ, गोरखा, मकवानपुर, बारा, पर्सा रौतहट, सर्लाही, लम्जुङ लगाएतका जिल्लाबाट रगत संकलन गर्ने गरेको छ । जिल्लामा एक संघिय अस्पताल,दुई ठूला मेडीकल कलेज, क्यान्सर अस्पताल र दुई दर्जन भन्दा वढि साना अस्पतालहरुमा दैनिक हुने शल्यक्रियाका कारण रगतको माग बढ्दै गएको छ ।
