चितवन । नेपाली कांग्रेस चितवनले नेताहरुले दिएको बागी उम्मेदवारी प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । कांग्रेस चितवनले मंगलबार जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय विज्ञप्ति मार्फत सार्वजनिक गर्दै पार्टी र गठबन्धनको उम्मेदवार उपर चित्त नबुझी नेताहरुले दिएको बागी उम्मेदवारीप्रति ध्यानाकर्षण जनाएको हो ।
मुलुक, लोकतन्त्र र पार्टी जीवनका लागि मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कांग्रेस र गठबन्धन दलका उम्मेदवारहरुले विजयी हासिल गर्नु अहिलेको अपरिहार्यता भएको विज्ञप्तिमा भनिएको छ । पार्टीको निर्णय र निर्देशन पालना गर्दै तोकिएको समय सीमा भित्र उम्मेदवारी फिर्ता गरी पार्टी र गठबन्धन दलका उम्मेदवारहरुका पक्षमा पक्षिकरण गर्न/गराउन पनि कांग्रेस चितवनले आग्रह गरेको छ । ‘मुलुक, लोकतन्त्र र पार्टी जीवनका लागि मंसिर ४ गते हुन गइरहेको संघीय तथा प्रादेशिक निर्वाचन-२०७९ नेपाली कांग्रेस र गठबन्धन दलका उम्मेदवारहरुले विजयी हासिल गर्नु अपरिहार्य छ ।
यो संघीन घडीमा राष्ट्र प्रतिको जिम्मेवारी बोध गर्दै पार्टीको निर्णय र निर्देशन शिरोधार्य गरी तोकिएको समय सिमा भित्र आ-आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता गरी पार्टी र गठबन्धन दलका उम्मेदवारहरुका पक्षमा पक्षिकरण गर्न गराउन यो बैठक हार्दिक अपील गर्दछ’, बैठकको निर्णयमा भनिएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका महासमिति सदस्य राजेन्द्रप्रसाद बुर्लाकोटी, प्रदेश सभा १(क) मा महासमिति सदस्य धन बहादुर गुरुङ, प्रदेश सभा १(ख) मा राममणी न्यौपाने, प्रतिनिधि सभा २ मा क्षेत्रिय प्रतिनिधि जगदिशचन्द्र अर्याल, प्रतिनिधि सभा ३ मा केन्द्रिय सदस्य दिनेश कोइराला र प्रतिनिधि सभा ३ मा क्षेत्रिय प्रतिनिधि तारा पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसैबीच कार्यसम्पादन समितिको बैठकले कांग्रेस र गठबन्धन दलका साझा उम्मेदवारहरुलाई विजयी गराउन मातहातका सबै निकायहरुलाई परिचालन गर्ने निर्णय पनि गरेको छ ।
