नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन नभई जनताका लागि आएको बताउनुभएको छ । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा नेता सिटौलाले निर्वाचन जनताको अधिकार र असल जनसेवक छनोटका लागि आएको बताउनुभयो । निर्वाचन जनतालाई अझ शक्तिशाली बनाउने अवसर भएको उहाँको भनाइ छ ।
“यो केहीलाई मन्त्री वा सांसद बनाउन आएको निर्वाचन होइन”, झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका उहाँले भन्नुभयो, “मतदानको सदुपयोग गरेर जनताले अब जनताको सेवा गर्ने पार्टी–उम्मेदवार छनोट गर्नुपर्छ ।”
जनतालाई खुसी, समृद्धिलगायतका शब्दले नपुग्ने बताउँँदै उहाँले जनतालाई वास्तविक खुसी र समृद्धि दिनुपर्नेमा जोड दिनुभयो । गठबन्धन निर्वाचनका लागि मात्र नभएको चर्चा गर्दै नेता सिटौलाले राष्ट्रिय आवश्यकताका लागि, मुलुक निर्माणका लागि भएको उल्लेख गर्नुभयो । गत स्थानीय तह निर्वाचन निष्पक्ष र धाँधलीरहित सम्पन्न भए जसरी नै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा निर्वाचन सरकारले सम्पन्न गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
