संसद् सचिवालयले आगामी शुक्रबारसम्म प्रतिनिधिसभा सदस्यहरूलाई सपथ खुवाउने तयारी थालेको छ। प्रतिनिधिसभाका दुई सय ७५ सांसदमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले पहिले पद तथा गोपनीयताको सपथ खुवाएपछि उनले सबै सांसदलाई सपथ खुवाउने भएका छन्।
संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले ७ वा ८ पुसमा सपथ खुवाइसक्ने बताएका छन्। संसद् सचिवालयले मंगलबारसम्म ज्येष्ठ सदस्यको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ।
अहिले सचिवालयले निर्वाचन आयोगसँग प्रतिनिधिसभा सदस्यको विवरण मागेको र तीमध्ये ज्येष्ठ सदस्यको नाम छनोट गरेर राष्ट्रपतिसमक्ष पठाउने गृहकार्यमा सचिवालय जुटेको छ। सांसदहरूलाई सपथ खुवाउन दुई तीन दिनअघि नै सूचना जारी गर्नुपर्ने हुन्छ।
किनकि प्रतिनिधिसभा सदस्यमा विभिन्न जात, समुदाय, क्षेत्रबाट सांसदहरू निर्वाचित भएर आएका छन्। उनीहरूले आफ्नै मातृभाषामा सपथ लिन चाहेमा संसद् सचिवालयले सोहीअनुसारको सपथ पत्र तयार गर्नुपर्ने हुन्छ।
तर, अहिलेसम्म ज्येष्ठ सदस्य को भन्ने अझै स्पष्ट भइसकेको छैन। नागरिकताअनुसार महिन्द्र राय यादव ज्येष्ठ सदस्य हुन्। उनको उमेर ८५ वर्ष छ। तर, उनले त्रुटिका कारण आफ्नो उमेर नागरिकतामा बढी भएको र सच्याउन निवेदन दिएका छन्। उनले निर्वाचन आयोगले अझैसम्म आफ्नो उमेर नसच्याएको भन्दै नैतिकताका आधारमा ज्येष्ठ सदस्यका रूपमा शपथ नलिने बताएका छन्।
यादवपछि राप्रपाका समानुपातिक सांसद पशुपतिशमशेर राणा ज्येष्ठ सदस्य छन्। यदि यादवले सपथ नखुवाएमा राप्रपा सांसद राणाले सबैलाई पद तथा गोपनीयताको सपथ खुवाउने छन्।
