चितवन । नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ । भरतपुर महानगरपालिका वडा नं. १ ठिमुराका २४ वर्षिय मिलन प्रजा र २० वर्षिया सविता प्रजाकी ३५ दिनको छोरी महिमा प्रजाको मुटुको डि–टिजिए (डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरीज) को शल्यक्रिया सफल भएको हो । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा.डा. अनिल आचार्य नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो । डिटिजिए शल्यक्रिया नेपालमा सफल भएको यो तेस्रो घटना भएको प्रा.डा.आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो “मलाई थाहा भएसम्म नेपालमा यस्तो प्रकृतिका शल्यक्रिया सफल भएको यो तेस्रो हो । यस्ता प्रकृतिको शल्यक्रिया गर्दा मृत्युदर ९० प्रतिशतसम्म हुन्छ ।” मानिसको मुटुको तल्लो दाहिने कोठाबाट फोक्सोमा रगत जाने रक्तनली हुने र देब्रेतिरको तल्लो कोठाबाट शरीरमा रगत जाने रक्तनली हुने उहाँ बताउनुहुन्छ । दाहिनेतर्फ फोक्सोमा गएको रगत शुद्ध भएपछि देब्रे कोठामा आएर देब्रे कोठाले शुद्ध रगत शरीरमा पठाउनु पर्नेमा महिलाको रक्तनली ठीक उल्टो भएको उहाँले बताउनुभयो ।
यस्तो प्रकृतिको शल्यक्रियामा कोरोनरी आर्टरिजका नलीहरुको समेत ठाउँ बदल्नु पर्ने बताउँदै प्रा.डा. आचार्यले भन्नुभयो “त्यो पनि हामीले ठाउँ बदल्यौं ।” महिमामा अब कुनै समस्या नरहेको उहाँको भनाई छ । नवजात शिशुलाई बेहोस् बनाएर शल्यक्रिया गर्न निकै जटिल हुने भन्दै उहाँले त्यसमाथि मुटु जस्तो संवेदनशील अंगको शल्यक्रिया झनै जटिल हुने बताउनुभयो । गत माघ २३ अस्पताल भर्ना भएकी महिमाको २५ गते शल्यक्रिया गरिएको हो ।
शल्यक्रियामा प्रा.डा.आचार्य सहित डा. अल्का सिंह, एनेस्थेसियोलोजिष्ट डा.प्रवेश ज्ञवाली, परफूजनिस्ट (शल्यक्रिया गर्दा मुटु र फोक्सो चलाउने मेसिन सञ्चालन गर्ने) गोविन्द बधनगरिया, बाल रोग विशेषज्ञ डा. विराज पराजुली नर्सहरुको टोली संलग्न हुनुहुन्थ्यो । भरतपुर अस्पतालका चिकित्सकले निमोनियाको शंका गरेर महिमालाई रिफर गरेका थिए । २० दिन एनआईसियूमा राखेर उपचारपछि महिलामा अहिले पूर्ण रुपमा निको भएकी छिन् । उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
यसैबीच खेती किसानी र ज्याला मजदुरी गर्ने मिलन प्रजालाई छोरीको उपचार गर्न आर्थिक अभाव भएको छ । हालसम्म पाँच लाखभन्दा बढी खर्च भईसकेको बताउँदै उहाँले सरसापट गरेर उपचार गर्दै आएको बताउनुभयो । काठमाण्डौंका गंगालाल र मनमोहनमा १५ वर्ष मुनि र ७५ वर्ष माथिकालाई मुटुको उपचार निःशुल्क हुने भए पनि उपत्यका बाहिर यो सुविधा सरकारले दिएको छैन ।
