प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चीन भ्रमणको समयमा दुई देश बीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचिमा रहेको बताउनुभएको छ ।
मङ्गलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद उदय शमशेर जबराले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्रीले चीन भ्रमणको समयमा दुई देश बीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचिमा रहेको बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले दुई देशका बीचमा रहेका सीमा नाकाहरुको सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने पनि बताउनुभयो । दुई देशका बीचमा यस अघि भएका सम्झौता र समझदारीहरुलाई कार्यान्वयनमा जोड दिने पनि उहाँको भनाइ छ ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘निकट भविष्यमा हुने मित्रराष्ट्र चीनको भ्रमण दुई देश बीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पु¥याउँदै नेपालको सामाजिक, आर्थिक विकासका लागि चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहने छ । भ्रमणका क्रममा यस अघि भएका सम्झौता र समझदारीहरुको कार्यान्वयनमा जोड दिइने छ ।’’
यस्तै, सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि, व्यापार र स्थास्थ्यको क्षेत्रमा रुपान्तरणकारी परियोजनाहरुमा चिनको सहयोगको विस्तार गर्ने विषय पनि भ्रमणको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।
‘‘नेपाल र चीन बीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने, दुई देशबीच रहेका सीमा नाकाहरुको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरु खोल्ने विषयहरु पनि भ्रमणका क्रममा कार्यसूचिमा रहेका छन् ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यसैगरी सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि, व्यापार तथा विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका रुपान्तरणकारी परियोजनाहरुमा चिनको सहयोग बिस्तारको विषय समेत प्राथमिकतामा रहने छ ।’’
प्रधानमन्त्रीले अर्थतन्त्र लयमा फर्किंदै गरेको उल्लेख गर्नुहुँदै २०८० असार मसान्तसम्म शोधान्तर स्थिति २९० अर्ब ५२ करोड रुपियाँको वचतमा रहेको बताउनुभयो । यस्तै, विदेशी विनिमय सञ्चिति गत वर्षको यही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भइ १५३९ अर्ब ३६ करोड रुपियाँ पुगेको र यसले करिब १० महिनाको वस्तु, तथा सेवाको आयात धान्न पुग्ने अवस्था रहेको बताउनुभयो । यसैगरी, विप्रेषण आयमा २१.२ प्रतिशतले वृद्धि भई १२२० अर्ब ५६ करोड पुगेको जानकारी गराउनुभयो ।
‘‘उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनःउत्थान तथा उच्च, दिगो, समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशिल रही आएको छ । सरकारले चालेका सुधारका कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किन सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रशासित गरेको प्रतिवेदन अनुसार अर्थतन्त्रका सूचकाङ्कहरु सकारात्मक दिशातर्फ उन्मुख रहेका छन् । २०८० असार मसान्तसम्म शोधान्तर स्थिति २९० अर्ब ५२ करोड रुपियाँको वचतमा रहेको छ ।,’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विदेशी विनिमय सञ्चिति गत वर्षको यही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भइ १५३९ अर्ब ३६ करोड रुपियाँ पुगेको र यसले करिव १० महिनाको वस्तु, तथा सेवाको आयात धान्न पुग्ने अवस्था रहेको छ । विप्रेषण आयमा २१.२ प्रतिशतले वृद्धि भई १२२० अर्ब ५६ करोड पुगेको छ । वैदेशिक लगानी प्रवद्र्धन गर्न नीतिगत र संस्थागत सुधार गर्दै वैदेशिक लगानीको स्वीकृति प्रक्रियालाई सहजीकरण गर्न थ्रेसहोल्ड घटाउने लगायतको कार्य अगाडी बढाइएको छ ।’’
उहाँले वैदेशिक लगानी प्रवद्र्धन गर्न नीतिगत र संस्थागत सुधार गर्दै वैदेशिक लगानीको स्वीकृति प्रक्रियालाई सहजीकरण गर्न थ्रेसहोल्ड घटाउने लगायतको कार्य अगाडि बढाइएको स्पष्ट पार्नुभयो । गोरखापत्र अनलाइनबाट
