प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनको आर्थिक साझेदारीले लगानी सम्बन्धलाई बलियो बनाउने बताउनुभएको छ।
आइतबार चीनको राजधानी पेइचिङमा आयोजित नेपाल–चीन शिखर व्यापार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो।
‘‘यस्ता सम्मेलनले नेपाल र चीनको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउन, दुई देशको व्यापार–व्यवसाय र लगानी सम्बन्धलाई बलियो बनाउन मार्ग प्रशस्त गर्ने निश्चित छ’’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो।
पेइचिङस्थित दूतावाससँगको सहकार्यमा भएको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपाल उपयुक्त अवसरको देश भएकाले उद्यमी र लगानीकर्तालाई स्वागतको सन्देश दिन आफू चीन आएको बताउनुभएको छ।
प्रधानमन्त्री प्रचण्डले जलस्रोत, खाद्य सुरक्षा, कृषि क्षेत्र, पर्यटन उद्योग र बढ्दो आइसिटी लगानीका आकर्षक क्षेत्र भएको बताउनुभएको छ। यी क्षेत्रको लगानीले उच्च प्रतिफल दिने उहाँको विश्वास छ।
शिखर सम्मेलन दुई देशका निजी क्षेत्रको बलियो सहकार्य निर्माणमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो। आफू चीनको विकासको गतिलाई देखेर छक्क परेकोसमेत चर्चा गर्नुभयो।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘म यो देशमा विकासको गति र मापन देखेर छक्क पर्छु। पूर्वाधारदेखि औद्योगिकीकरणसम्म, मानव विकासदेखि गरिबी निवारणसम्म, शिक्षा र स्वास्थ्य सेवादेखि विज्ञान र प्रविधिसम्म चीनले गरेको प्रगति मानव सभ्यताको इतिहासमा विरलै देख्न पाइन्छ।’’
प्रधानमन्त्री प्रचण्डले चिनियाँ नागरिकलाई गरिबीको रेखाबाट माथि उठाउने लक्ष्य सफलतापूर्वक हासिल गरेको भन्दै चीनका राष्ट्रपति सी चिनफिङको नेतृत्वलाई बधाई दिनुभयो।
उहाँले निकट छिमेकीका नाताले नेपालले चीनसँग पारस्परिक रूपमा लाभदायक सहयोग प्रवर्द्धन गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनले शान्तिपूर्ण सहअस्तित्व, आपसी समझदारी, पारस्परिक लाभ र सहयोगको फाइदा लिनुपर्नेमा जोड दिनुभएको छ।
सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेपाल–चीन भाइचाराको इतिहास लामो रहेको सम्झनासमेत गर्नुभयो। गोरखापत्र अनलाइनबाट
