भरतपुर, चितवन, पुष १, २०८१ – नेपाली युवा उद्यमी मञ्च (NYEF) चितवन च्याप्टरले भरतपुर महानगरपालिकाको सहकार्यमा “NYEF with Mayor” कार्यक्रमको सफल आयोजना गरेको छ। कार्यक्रम शनिबार भरतपुरस्थित होटल सिराचुलिमा सम्पन्न भएको हो।




कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता NYEF चितवन च्याप्टरका अध्यक्ष उमेश श्रेष्ठले गर्नुभएको थियो।
कार्यक्रममा स्थानीय उद्यमशीलता प्रवर्द्धन, युवा उद्यमीहरूको भूमिका र महानगरपालिकासँगको सहकार्यका सम्भावनाहरू विषयमा विशेष छलफल भएको थियो। सहभागीहरूले भरतपुर महानगरसँगको सहकार्यलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे गहन विचारविमर्श गरे।
NYEF चितवन च्याप्टरका करिब ३० जना सदस्यहरूको उपस्थिति रहेको कार्यक्रममा मेयर रेणु दाहालले उद्यमशीलताको विकासका लागि महानगरपालिकाका नीतिहरू र योजनाहरू प्रस्तुत गर्नुभएको थियो। सदस्यहरूले आफ्ना जिज्ञासाहरू राख्ने अवसर पाउँदा मेयरले समाधानात्मक दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष उमेश श्रेष्ठले मेयर रेणु दाहाललाई धन्यवाद ज्ञापन गर्दै उद्यमशीलता विकासका लागि महानगर र मञ्चबीच भविष्यमा पनि सहकार्य हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
यस कार्यक्रमले युवा उद्यमीहरूलाई उद्यमशीलता, नेतृत्व, र नवप्रवर्तनका क्षेत्रमा थप प्रोत्साहन प्रदान गर्ने विश्वास गरिएको छ।
