“दिगो विकास र सुनौलो भविष्यको सार, स्थानीय सहभागिता समृद्धिको आधार” भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माडी–०३ बसन्तपुरस्थित भेटनरी अस्पतालको सभाहलमा युवा र जलवायु न्यायबारे एक दिने अन्तरक्रियात्मक कार्यक्रम ३५ जना युवाहरूको सक्रिय सहभागितामा सम्पन्न भयो।
कार्यक्रमका प्रशिक्षक ध्रुव आचार्य (उप–प्राध्यापक, सप्तगण्डकी बहुमुखी क्याम्पस) र बिक्रम सुनार (विद्यार्थी, राजनीतिशास्त्र तथा कानुन)ले दिगो विकासका लक्ष्यहरूलाई आत्मसाथ गर्दै जलवायु परिवर्तन, वातावरण संरक्षण, कृषि तथा खाद्य सुरक्षा, पानीका स्रोत र उर्जा उत्पादन, जैविक विषादीको प्रयोग, र जलवायुमैत्री कृषि प्रवर्द्धनजस्ता विषयमा अन्तरक्रियात्मक सत्र सञ्चालन गर्नुभयो।
प्रशिक्षकद्वयको साझा सन्देश थियो — “युवा पुस्ता नै जलवायु न्यायको अग्रपंक्तिमा रहनुपर्छ; सानो प्रयासले पनि ठूलो परिवर्तन सम्भव छ।”
सहभागी युवाहरूले जलवायु परिवर्तनका प्रत्यक्ष प्रभावका अनुभव बाँड्दै, स्थानीयस्तरमा दिगो र व्यवहारिक समाधानका पहल गर्न संकल्प व्यक्त गरे। साथै, वातावरणीय प्रभावलाई न्यूनिकरण गर्ने उद्देश्यले विरुवा रोप्नका लागि गमला समेत वितरण गरिएको थियो।उक्त जानकारी माडी जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष जेसी ईश्वर रानाभाट ज्युले दिनुभयो।
