चितवन, नारायणगढ । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नारायणगढ जेसीजले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने चार जना महिलालाई सम्मान गरेको छ। समाजमा सकारात्मक प्रभाव पार्ने समर्पित, सिर्जनशील र प्रेरणादायी कार्यको कदर गर्दै उनीहरूलाई “नारी सम्मान कार्यक्रम” मार्फत सम्मानपत्र प्रदान गरिएको हो।
सम्मानित हुने व्यक्तित्वहरूमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, चितवनकी उपकुलपति प्रा. डा. शारदा थपलिया, शिक्षण तथा साहित्य क्षेत्रमा योगदान पुर्याउँदै आउनु भएकी निवृत्त शिक्षक तथा साहित्यकार सरस्वती रिजाल, तथा स्वास्थ्य क्षेत्रमा समर्पित योगदान पुर्याइरहनु भएकी बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनकी प्रमुख–स्त्री क्यान्सर विभागकी डा. बिनुमा श्रेष्ठ र तालिम एवम् प्रशिक्षण विभाग राष्ट्रिय खेलकुद परिषद् कि उपनिर्देशक श्री अरुणा गुरुङ रहनुभएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल जेसीजका निरूपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी स्वप्ना पौडेल भण्डारी उपस्थित हुनुहुन्थ्यो। उहाँले समाज रूपान्तरण र नेतृत्व विकासमा महिलाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सम्मानित व्यक्तित्वहरूको कार्यले नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
नारायणगढ जेसीजका अध्यक्ष सिनेटर सन्तोष पण्डितले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउँदै समाजलाई सकारात्मक दिशा दिनु भएका महिलाहरूलाई सम्मान गर्न पाउँदा संस्थालाई गौरव लागेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले समाजमा प्रेरणा र सम्मानको संस्कारलाई अझ बलियो बनाउने धारणा व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा राष्ट्रिय महासचिव अमर घिमिरे, नारायणगढ जेसीजका पूर्व अध्यक्ष सुदिप सिंह अधिकारी , अनोज जोशी लगाएतका व्यक्तित्वहरुको उपस्थित रहेको थियो।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको योगदानको कदर गर्दै उनीहरूको आगामी जीवन स्वस्थ, समृद्ध र सुखमय बनोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रम संस्थाका कोषाध्यक्ष विपिन कडेलले सञ्चालन गरेका थिए ।
