काठमाडौँ। देशका विभिन्न जिल्लाबाट छनोट गरिएका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले ओरेगन नेपाली समाज (अमेरिका) ले छात्रवृत्ति प्रदान गर्ने भएको छ। ‘सेवा र विकासका लागि युवा’ को समन्वयमा सञ्चालित यस कार्यक्रमअन्तर्गत यसपटक कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति सहयोग गर्न लागिएको हो।
शनिबार भरतपुरमा आयोजित एक पत्रकार सम्मेलनमार्फत छात्रवृत्ति कार्यक्रमबारे औपचारिक जानकारी गराइएको छ। छनोटमा परेका प्रत्येक विद्यार्थीले १०० अमेरिकी डलर (करिब १५ हजारभन्दा नेपाली रुपैयाँ) र प्रमाणपत्र प्राप्त गर्नेछन्।
संस्थाका अध्यक्ष एकराज दाहालले भिडियो सन्देशमार्फत दिएको जानकारीअनुसार आर्थिक अवस्था कमजोर भएका तर पढाइमा उत्कृष्ट/जेहेन्दार विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर पारदर्शी रूपमा छनोट गरिएको छ। सामान्य आर्थिक अभावकै कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् र उनीहरूले आफ्नो अध्ययनलाई निरन्तरता दिन सकून् भन्ने मूल ध्येयका साथ यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष दाहालले बताउनुभयो।
अमेरिकास्थित ओरेगन नेपाली समाजले पछिल्लो समय नेपालको शिक्षा र सामाजिक विकासका क्षेत्रमा आफ्ना गतिविधिहरू तीव्र बनाउँदै लगेको छ। संस्थाले यो छात्रवृत्ति अभियानलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको एक महत्त्वपूर्ण हिस्साका रूपमा अगाडि बढाएको जनाएको छ।
आयोजित पत्रकार सम्मेलनमा ‘सेवा र विकासका लागि युवा’ का केन्द्रीय अध्यक्ष ङा. देवेन्द्र कण्डेल, केन्द्रीय कोषाध्यक्ष राजु सापकोटा र केन्द्रीय सचिव इन्जिनियर कुशल सापकोटाको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै पदाधिकारीहरूले प्राप्त छात्रवृत्तिले विद्यार्थीहरूको तत्कालीन शैक्षिक आवश्यकता (कपडा, कापी-कलम, भर्ना शुल्क आदि) पूरा गर्न उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गरे।
