काठमाडौं । कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कन्सल्टेन्सीले आफ्नो छोरालाई कोरिया पठाउने भन्दै दुई वर्षदेखि अलपत्र पारेको भन्दै एक महिलाले प्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष सामाजिक सञ्जाल टिकटकमार्फत कारबाहीको माग गरेकी थिइन् । उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–११ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्दै आएका २८ वर्षीय गणेश पाण्डेलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
पाण्डेलाई २०८३ असोज २० गते काठमाडौं महानगरपालिका–२६ स्थित रानीबारी चोकबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका पाण्डेविरुद्ध ठगीसम्बन्धी विषयमा आवश्यक अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
