भरतपुर । गर्मी लागेसँगै चितवनमा उत्पादन भएका तरकारीहरुमा अत्यधिक विषादी भेटिन थालेको छ । गर्मीयाममा तरकारीहरुमा रोगकीराहरु बढी लाग्ने भएकाले यहाँका किसानहरुले जथाभावी विषादी प्रयोग गर्न थालेका छन् ।
गएको फागुनदेखि तरकारीहरुमा विषादीको प्रयोग बढेको पाइएको विषादी अवशेष दु्रत परीक्षण प्रयोगशालाले जनाएको छ । भरतपुर महानगरपालिका–२, क्षेत्रपुरस्थित भरतपुर महानगर तरकारी तथा फलफूल थोक बजारमा प्रयोगशाला रहेको छ ।
चैतमा विषादीको मात्रा अत्यधिक पाइएका तीन किसिमका तरकारीहरु नष्ट गरिएको प्रयोगशाला प्रमुख बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले बताइन् । चितवनमै उत्पादन भएको ब्रोकाउली, काँक्रो र सिमीमा अत्यधिक विषादीको मात्रा भेटिएको उनले बताइन् । भारतबाट आएको घिरौँलामा पनि अत्यधिक विषादी पाइएपछि नष्ट गरिएको उनको भनाइ छ ।
‘चितवनमा नै उत्पादन भएको दुई ठाउँको काँक्रो, ब्रोकाउली र सिमीमा बढी मात्रामा विषादी भेटियो’, उनले भनिन्, ‘त्यस्ता तरकारीहरुलाई बजारको समितिको जिम्मा लगाएर नष्ट गर्न लगायौँ । नष्ट गरेपछि उहाँहरुले त्यसको मुचुल्का ल्याएर दिनुहुन्छ ।’ अक्सन बजारमा किसान आफैँले बिक्री गर्न ल्याएको ब्रोकाउलीमा अत्यधिक विषादी भेटिएको उनले बताइन् ।
चितवनको मंगलपुर र ब्रह्मपुरमा उत्पादन भएको काँक्रो, रत्ननगरमा उत्पादन भएको ब्रोकाउली र भीमनगरमा उत्पादन भएको सिमीमा अत्यधिक विषादी पाइएको क्षेत्रीले जानकारी दिइन् । फागुनमा पनि अत्यधिक विषादी भेटिएको पाख्रिबासको टमाटर, राप्तीको भेँडे खुर्सानी र टमाटर नष्ट गरिएको थियो ।
तरकारीमा कार्बामेट्स र अर्गानोफस्फेट विषादीको मात्रा प्रयोगशालामा परीक्षण गरिन्छ । यस किसिमको विषादी किसानहरुले कीरा मार्नका लागि बढी प्रयोग गर्ने गर्छन् । तरकारीमा ३५ प्रतिशतसम्म विषादी भेटिए तरकारी खानयोग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म भेटिएमा तरकारीलाई केही दिन क्वारेन्टिन गरेर राख्नुपर्छ ।
कम्तीमा तीन दिनसम्म क्वारेन्टिन गरेर राखेको तरकारीमा विषादीको मात्रा पुनः परीक्षण गरिन्छ । ३५ प्रतिशतभन्दा कम पाइएमात्रै त्यस तरकारी उपभोग गर्न सकिने उनी बताउँछिन् । यदि तरकारीमा ४५ प्रतिशतभन्दा बढी विषादीको मात्रा भेटिएमा त्यस्तो तरकारी तुरून्तै नष्ट गरिने उनको भनाइ छ ।
चैतमा क्वारेन्टिन गर्नुपर्ने तरकारीहरु पनि भेटिए । रत्ननगरको काउली, भेन्टा र राप्तीको टमाटरमा ३५ प्रतिशतभन्दा बढी विषादी पाइएको उनले बताइन् । ‘गर्मी सिजनमा तरकारीहरुमा कीरा बढी लाग्ने भएकाले विषादीको पनि बढी प्रयोग भएको हुन सक्छ’, उनी भन्छिन्, ‘कीरा मार्न जति पनि विषादी हाल्ने प्रवृत्ति छ, यससम्बन्धी हामीहरुले सचेतनाका कार्यक्रमहरु पनि गरिरहेका छौँ ।’
अत्यधिक विषादी हालिएको तरकारी खाँदा टाउको दुख्ने, बान्ता हुने, शरीर चिलाउने र एलर्जी हुनेजस्ता समस्याहरु देखिन्छन् । विषादीको दीर्घकालीन असर भनेको क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोग लाग्नु हो ।
‘तरकारीमा बढी विषादी पाइएमा जुन किसानले उब्जाउनुभएको हो उहाँलाई फोन गरेर सम्झाउँछौँ’, उनी भन्छिन्, ‘विषादी हालिसकेपछि केही दिन पर्खिएरमात्रै टिप्न भन्छौँ ।’ वैशाख लागेपछि सोमबारसम्म भने कुनै पनि तरकारीमा विषादीको मात्रा बढी रहेको नपाइएको उनले बताइन् ।
कसरी गरिन्छ परीक्षण ?
प्रयोगशालाका कर्मचारीहरुले हरेक दिन बिहान ४ बजेदेखि ८ बजेसम्म तरकारीमा विषादीको मात्रा परीक्षण गर्छन् । पुनः परीक्षण गर्नुपर्ने भए कहिलेकाहीँ बिहानको १० बजेसम्म पनि काम हुन्छ । दैनिक ५ वटा नमुना लिएर विषादी परीक्षण गरिन्छ ।
एउटा नमुनाको रिपोर्ट आउन कम्तीमा ३० मिनेट लाग्ने प्रयोगशाला प्रमुख क्षेत्री बताउँछिन् । विषादी परीक्षणका लागि क्षेत्रीसहित तीन जना कर्मचारीहरुको व्यवस्था गरिएको छ ।
तरकारी तथा फलफूल थोक बजारमा किसानहरुले सोझै बिक्री गर्न पनि पाउँछन् । उनीहरुका लागि बजारभित्रै अक्सन बजारको व्यवस्था गरिएको छ । व्यापारीहरुले आआफ्नो स्टलबाट तरकारी बिक्री गर्छन् ।
किसान र व्यापारीहरुले बिक्रीका लागि राखेका तरकारी तथा फलफूलको नमुना उठाएर परीक्षण गरिने उनी बताउँछिन् । ‘व्यापारी र किसानले ल्याएका तरकारीको शंकास्पद नमुना लिएर परीक्षण गर्छौं’, उनले भनिन्, ‘कहिले त किसानकै बारीमा पुगेर पनि नमुना ल्याउँछौँ ।’
