काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली जालझेल गरेर राजनीति गर्न मात्र चतूर रहेको टिप्पणी गरेका छन् ।
क्यानडा नेपालसंग कुराकानी गर्दै नेता थापाले भने, “प्रधानमन्त्री केपी शर्मा ओलीलाई बलियो र चतूर नेता भन्दा हाँस उठ्छ । नेकपा जस्तो ठूलो दलको अध्यक्ष भएका, संसदमा बहुमत प्राप्त प्रधानमन्त्री भएका व्यक्ति अहिले न नेकपा पार्टी एकीकरण गर्न सके न नै विश्वासको मत लिन सके न नै एमाले पार्टीलाई नै जोगाउन सके । प्रधानमन्त्री ओली जालझेल गरेर आफ्नो कुर्सी जोगाउन मात्र चतूर छन् जुन देशको लागि हानिकारक छ ।”
नेता थापाले संसद विघटन हुनुको कारण एमसीसी रहेको टिप्पणी गलत रहेको जनाएका छन् । गगन थापाले भने, “अहिले संसद विघटन हुनुको कारण प्रधानमन्त्री ओलीको पार्टी भित्रको झगडा हो । अरु भनेको गरिने टिप्पणी मात्र हो । तत्कालीन नेकपा र अहिलेको एमालेका शिर्ष नेताहरु बीच पद र कुर्सीको लागि गरिएको झगडाले संसदमाथी आक्रमण भएको हो ।”
गगन थापाका अनुसार प्रधानमन्त्री ओलीको नियत ठिक नभएको कारण चुनाव गराउन सक्दैनन् । विगत एक महिनादेखि प्रधानमन्त्रीको क्रियाकलापले नै बताउँछ कि चुनाव गराउने नियत नरहेको नेता गगन थापाको विश्लेषण रहेको छ ।
-क्यानडा नेपालबाट
