काठमाडौं। साताको अन्तिम कारोबार दिन सेयर बजारले फराकिलो छलाङसँगै कारोबारमा पनि दोस्रो ठूलो रेकर्ड कायम गरेको छ।
बाणिज्य बैंक समूहले डोहोर्याउँदा समग्र बजार नै माथि गएको हो। बैंकिङ समूह ५० अंक बढिले कारोबार भएको छ। एभरेष्ट बैंकको कन्भर्टिभलसहित कुल २५ वटाको किनबेच भएको छ। कन्भर्टिभल बाहेक सबैको सेयर मूल्य बढेको छ।
बैंकिङ समूहमा रहेका कम्पनीहरुको मात्र कुल ४ अर्ब ६७ करोड ३६ लाख ६० हजार रुपैयाँको सेयर किनबेच भएको छ। जबकी कुल कारोबार १६ अर्ब ९० करोड ७० लाख रुपैयाँको भएको छ। बिहीबार बजार २९.५५ अंक बढेर २८ सय ५६ अंकमाथि पुगेको छ।
बैंकिङमा पनि सबैभन्दा बढि मूल्य सिटिजन्स बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, सनराइज, बिओके र सिद्धार्थ बैंकको बढेको छ। ‘मस्ट एक्टिभ’ भने सिभिल, मेगा, सिटिजन्स बैंकका लगानीकर्ता थिए। यसपछि कुमारी, ग्लोबल आइएमई र सेञ्चुरी बैंकमा पनि लगानीकर्ता धुरिएका थिए। बैंकमा पनि कम मूल्य भएको कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण उच्च थियो।
जलविद्युत, ब्यापार, निर्जीबन बीमा र अन्य समूहको सेयर सूचक घटेको छ। बैंकिङलाई विकास बैंक र फाइनान्स कम्पनीका साथै लघुवित्त र जीवन बीमा कम्पनीले पनि साथ दिएको छ।
सर्वाधिक सेयर कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनीले निरन्तरता पाएको छ। कम्पनीको एक अर्ब २ करोड ७० लाख रुपैयाँको किनबेच भएको छ। यसपछि छिमेक लघुवित्तको ६८ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। लुम्बिनी विकास बैंकको ३५ करोडको किनबेच भएको छ।
बढेको बजारमा सर्वाधिक धेरै मूल्य घट्ने पाँच कम्पनीमा चार जलविद्युतका छन्। नारायणी डेभलपमेन्ट बैंकको पनि मूल्य घटेको छ।
