काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादीका नेताहरुलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
पुनर्गठित सरकारमा एमालेका चार जनाबाहेक सबै मन्त्री पदमुक्त हुने भएका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त गर्न लागिएको हो ।
अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ । शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
पुनर्गठित मन्त्रिपरिषद्बाट उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका छन्। अब परराष्ट्र मन्त्रालयको जिम्मा उपप्रधानसहित रघुबीर महासेठले पाउनेछन् ।
यसैगरी जसपाबाट १० जना सरकारमा सहभागी हुने भएका छन् । जसपाबाट ८ जना मन्त्री र दुई राज्यमन्त्री बन्ने भएका हुन् ।
जसपाबाट राजेन्द्र महतो उपप्रधान मन्त्री तथा शहरी विकास, शरतसिहं भण्डारी ऊर्जा, अनिल झा खानेपानी, विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया वन, लक्ष्मण लाल कर्ण भूमिसुधार, चन्दा चौधरी महिला र एकबाल मियाँले युवा मन्त्रालयको जिम्मेवारी पाउँदैछन् ।
यस्तै जसपाकै चन्द्रकान्त चौधरी राज्य मन्त्री ऊर्जा र रेणुका गुरुङ राज्य मन्त्री महिला बन्ने भएका छन् । उनीहरुलाई शुक्रबार राति ८ बजे सपथ खुवाउने तयारी गरिएको छ ।
