काठमाडौं । सत्तारुढ नेकपा एमाले फुट र जुटको दुवै बाटोमा अघि बढ्दै केही महिनायता धुक धुक चलिरहेको छ । विशेषगरी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीचको जुंगाको लडाइँले एमाले फुटको संघारबाट हिँडिरहेको छ । तर, पछिल्लो केही दिनयता भने नेपाल समूहको माग पूरा गरेर भए पनि एमालेको एकताका लागि अध्यक्ष ओली क्रियाशील रहेको नेताहरुले जानकारी दिएका छन् ।
गत २३ फागुनमा सर्वाेच्च अदालतको आदेशले माओवादी र एमालेले आ–आफ्नो बाटो लिए । साविक नेकपाका बेला प्रचण्ड समूहका रहेका नेपाल समूह एमालेको मूल प्रवाहमा सामेल हुन सकेको छैन । नेपाल समूहले अध्यक्ष ओलीले आफूहरुलाई बाइपास गरेर मनलाग्दी निर्णय गरेको आरोप लगाउँदै आएको छ ।
नेपाल समूहले अदालतको आदेशअनुसार अब पार्टी माओवादीसँग एकता हुनु अघि २०७५ जेठ ३ गते अघिको अवस्था फर्कनु पर्ने अर्थात नवौँ महाधिवेशनले निर्वाचित र चयन गरेका समितिहरुलाई सक्रिय बनाउनु पर्ने माग गर्दै आएको छ ।
यता संस्थापन पक्ष अब पार्टी निकै अघि बढिसकेको भन्दै नेपाल समूहको माग पूरा गर्न नसक्ने अडान लिँदै आएको छ । तर, यही टकरावले गण्डकी सरकारबाट हात धुनु परेको एमालेका प्रदेशमा दुई समूह मिल्न थालेका छन् । जसको दबाब केन्द्रीय नेतृत्वमा परेको छ ।
सोही क्रममा अध्यक्ष ओलीले नेपाल समूहका नेताहरुलाई समेटेर नवौँ महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीको बैठक बोलाउने तयारी गरिरहेका छन् । पार्टी एकताको पक्षमा रहेको दुवै समूहका युवा नेताहरु अनौपचारिक वार्तामा रहेका छन् ।
दुवै समूहको सहमतिमा बैठकको मिति र स्थान तोक्ने गरी अहिले छलफल भइरहेको एमाले स्रोतले जानकारी दिएको छ । नेपाल समूह बैठकमा सहभागी हुने र नहुने दुवै मत देखिएको छ ।
नेपाल समूहको एक पक्ष पार्टी २०७५ जेठ २ मा नफर्किएसम्म बैठकमा सहभागी नहुने पक्षमा देखिन्छन् भने अर्काे पक्ष भने अदालतले नै जेठ २ को अवस्थामा फर्काइसकेकाले अब बैठक सहभागी भएर आफ्ना कुरा राख्नुपर्ने अडानमा रहेको छ ।
तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपाल समूहलाई बैठकमा सहभागी गराएर पार्टी एकता गर्नुपर्ने पक्षमा रहँदै सोहीअनुसार आफूनिकटका नेताहरुलाई छलफलमा सहभागी गराइरहेका छन् ।
