काठमाडौंका केही पब्लिकेसनहरूले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्र समेटिएको नयाँ चुच्चे नक्साको सट्टा पुरानो प्रयोग गरी पाठ्यसामग्री तयार गरी बिक्रीवितरण गरेका छन् । केही पब्लिकेसनलाई पाठ्यक्रम विकास केन्द्रले स्पष्टीकरण सोधेपछि सुधार गरेका छन् भने केहीले अहिले पनि खुला रूपमा यस्ता सामग्री बिक्रीवितरण गरिरहेको पाइएको छ ।
अक्सब्रिज पब्लिकेसन, कोसेली, रिडमोर पब्लिकेसनलगायतका पुस्तकमा पुरानै नक्सा प्रयोग गरेको पाइएको थियो । केन्द्रले कोसेली पब्लिकेसनलाई पुस्तकसहित कार्यालयमा आउन निर्देशन दिएको छ । रिडमोर पब्लिकेसनलाई केन्द्रले स्पष्टीकरण सोधेको छ । अक्सब्रिज पब्लिकेसनको जेनरल नलेज पुस्तकमा नेपालको पुरानो नक्सा प्रयोग छ । सो पुस्तक धमाधम बिक्री भएको छ । यसरी अपडेट नगरेको पुस्तकलाई ठूला संस्थागत विद्यालयले समेत पढ्न लगाएका छन् । रिडमोर पब्लिकेसनले स्टक भन्दै पुरानो नक्सा भएको पुस्तक बिक्री गर्दै आएको छ । केन्द्रले स्पष्टीकरण सोधेपछि स्टकको पुस्तक रहेको र अब बिक्री नगर्ने जवाफ केन्द्रमा पठाएको छ ।
पैसाको लोभमा कलिला बालबालिकाको मनोविज्ञान बिगार्ने काम गरेको भन्दै आलोचनासमेत हुने गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले केही समयअघि पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका थिए ।
