काठमाडौं । नेकपा एमालेको संस्थापन र असन्तुष्ट दुवै समूहले पार्टी एकताबद्ध रहेको सन्देश आमजनता र कार्यकर्तामाझ दिन राजी भएका छन् ।
आइतबार नेपाल निवास कोटेश्वरमा पुुगेका दुवै समूहका दोस्रो तहका नेताहरु पार्टी एकताका लागि भइरहेका कार्यसहितका विषयमा असन्तुष्ट समूहका नेता माधवकुमार नेपाललाई ब्रिफिङ गरेका थिए ।
सो क्रममा संस्थापन ओली समूहका नेताहरुले एमाले एक रहेको सन्देश प्रवाहका लागि संयुक्त वक्तव्य दिन गरेको प्रस्तावलाई नेता नेपालले स्वीकार गरेका छन् ।
ओली समूहबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबाट संयुक्त वक्तव्य जारी गरेर एमाले एकताबद्ध रहेको सन्देश प्रवाह गर्न आग्रह गरेका हुन् ।
उक्त प्रस्तावलाई स्वीकार्दै नेता नेपालले कार्यदलबाट ड्राफ्ट बनाएर ल्याउन भने । तर अहिले कार्यदल निस्क्रिय रहेको जवाफ दिएका ओली समूहका नेताहरुले कार्यदल व्यूँताउन पनि अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता आवश्यक रहेको जानकारी गराए ।
लामो समयदेखि भावनात्मक रुपमा विभाजन भइसकेको एमाले कानुनी रुपमा मात्रै एक रहेको बताउँदै आइएका बेला पार्टी एक रहेको सन्देश दिन दुवै समूह राजी भएका हुन् ।
तर, वक्तव्यको ड्राफ्ट बनाएर ल्याउन भनेका नेता नेपाल र ओली समूहबीच वक्तव्यमा प्रयोग गरिने भाषा र शब्दमा विवाद नभएमा एमाले एक रहेको सन्देश आमजनता र कार्यकर्तामाझ जाने सम्भावना देखिएको छ ।
